अभिलाष गुप्ता
बैशाख ११ बिरगंज
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) ले आयोजना गर्न लागेको “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का लागि मधेस प्रदेशबाट पाँच जना फोटो पत्रकार मनोनयनमा परेका छन्। बुधबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममार्फत आठ विधा र सातै प्रदेशका लागि उत्कृष्ट पाँच–पाँच जनाको नाम सार्वजनिक गरिएको हो।
मधेस प्रदेशतर्फबाट अन्नपूर्ण पोस्ट दैनिकका दिवाकर भण्डारी, द हिमालयन टाइम्सका पर्सा राम सर्राफ, नयाँ पत्रिकाका तिवारी यादव, राससका अर्मेन्द्र कुमार यादव तथा चन्द्रदेव साह मनोनयनमा पर्न सफल भएका हुन्।
यस वर्ष अवार्ड दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटो पत्रकारिता गरी आठ विधामा प्रदान गरिनेछ। साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पत्रकारहरूलाई पनि प्रदेशस्तरीय सम्मान दिइने आयोजकले जनाएको छ।
अवार्ड वितरण समारोह आगामी बैशाख १३ गते शनिबार, ललितपुरको कुपन्डोलस्थित होटल हिमालयनमा आयोजना गरिने छ। कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
उक्त अवसरमा फोटो पत्रकारितामा दीर्घकालीन योगदान दिएका एकजना वरिष्ठ अवकाशप्राप्त फोटो पत्रकारलाई “लाइफटाइम एचिभमेन्ट अवार्ड” पनि प्रदान गरिनेछ। एनएफपीजेका महासचिव घनश्याम श्रेष्ठले यो सम्मान फोटो पत्रकारहरूको श्रम, समर्पण र पेशागत योगदानको उच्च मूल्याङ्कन भएको बताए।
अवार्ड छनोट समितिमा प्रदीपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटो पत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुर्य थपलिया, सूर्यज्योति लाइफ इन्स्योरेन्सका ब्राण्डिङ एण्ड कम्युनिकेशन प्रमुख मेघेन्द्र प्रकाश गिरी, प्राज्ञा–वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देश सञ्चारका सहसम्पादक मनोज दाहाल निर्णायक मण्डलमा रहेका छन्।
संयोजक वन्तका अनुसार देशभरबाट प्राप्त आवेदनहरू र तिनका पत्रकारितामा पुर्याएको योगदानका आधारमा मनोनयन गरिएको हो।









