२०८२ फाल्गुन १९ गते मंगलवार

१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा पर्सा–बारा जिल्ला कार्य समितिको संयुक्त आयोजनामा बृहत् र्‍याली

 

अभिलाष गुप्ता
बिरगंज १८ बैशाख

 

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस पर्सा र बारा जिल्ला कार्य समितिको संयुक्त आयोजनामा बिहीबार एक बृहत् र्‍याली र सभा बिरगंजमा सम्पन्न भएको छ।

र्‍याली घन्टाघरबाट सुरु भई माईस्थान हुँदै आदर्शनगरको परिक्रमा गरी पुनः घन्टाघर चौकमा पुगी सभामा परिणत भएको थियो। र्‍यालीमा सयौं श्रमिकहरूको सहभागिता रहेको थियो। उनीहरूले “श्रमको सम्मान गरौं”, “श्रम शक्ति नै राष्ट्र शक्ति हो”, “श्रमिक एकता जिन्दाबाद” लगायतका नाराहरू बोकेका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेस मधेश प्रदेशका अध्यक्ष विजय यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। सभामा श्रमिकको अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक, सम्मानजनक जीवनस्तर, र रोजगारीको अवसर अभिवृद्धि गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

अध्यक्ष यादवले श्रमिक बिना राष्ट्रको समृद्धि सम्भव नरहेको उल्लेख गर्दै सरकारले श्रमिकको हकहितमा प्रभावकारी नीति ल्याउनुपर्ने धारणा व्यक्त गरे। साथै, उनले संघीयता अनुसार प्रदेशस्तरीय श्रम मन्त्रालय सशक्त बन्नुपर्नेमा जोड दिए।

सभा ‘आन्तरिक रोजगारी र सामाजिक सुरक्षा हाम्रो अभियान, सामाजिक न्याय सहितको समृद्ध राष्ट्रको निर्माण’ भन्ने मूल नाराका साथ सम्पन्न भएको थियो। कार्यक्रममार्फत श्रमिकको अधिकार र सुरक्षाको सुनिश्चितताका लागि संयुक्त आवाज उठाइएको आयोजकहरूले बताएका छन्।

कार्यक्रममा विभिन्न श्रमिक युनियन, पेशागत संगठनका प्रतिनिधि, समाजसेवी, राजनीतिक कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM