अभिलाष गुप्ता
बैशाख १९ बिरगंज
नेतृत्व विकास र व्यवस्थापन तालिममा केन्द्रित ‘लिडरशिप डेभलपमेन्ट इन्स्टिच्युट अफ नेपाल (LDI Nepal)’ आजदेखि औपचारिक रूपमा बिरगंजमा सञ्चालनमा आएको छ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले कार्यक्रमको उद्घाटन समारोहमा धारणा राख्दै नेतृत्व विकासमार्फत मुलुकको सामाजिक, आर्थिक र संस्थागत परिवर्तन सम्भव हुने बताउनुभयो।
उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ बिरगंजका निवर्तमान अध्यक्ष अनिल पटवारी, वरिष्ठ समाजसेवी तथा पूर्व अध्यक्ष अशोक टेमानी, समाजसेवी एवं बारा ग्यासका सञ्चालक निर्मल खत्री लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
LDI नेपालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) अनिल जयसवालले संस्थाले युवा, पेशेवर तथा उद्यमीहरूलाई लक्षित गर्दै नेतृत्व, व्यवस्थापन तथा व्यावसायिक सीप अभिवृद्धिमा सहयोग पुर्याउने लक्ष्य लिएको जानकारी दिनुभयो।
“हामीले व्यवहारिक तालिम, कार्यशाला तथा परामर्श कार्यक्रमहरू सञ्चालन गर्नेछौं, जसले सहभागीहरूको रणनीतिक सोच, नेतृत्व क्षमता र व्यक्तिगत विकासमा उल्लेखनीय योगदान पुर्याउनेछ,” जयसवालले भन्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि अशोक टेमानीले यस्ता संस्थाले क्षेत्रीय युवा र पेशेवरहरूलाई सक्षम बनाउनेमा विश्वास व्यक्त गर्दै LDI नेपाललाई सफलताको शुभकामना दिनुभयो।









