अभिलाष गुप्ता
बैशाख २० बिरगंज
वीरगञ्ज उद्योग वाणिज्य संघले खुद्रा व्यवसायीहरूका समस्या सम्बोधन गर्न आपसी छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। शनिबार संघको सभाहलमा सम्पन्न भएको कार्यक्रममा संघले खुद्रा व्यवसायीहरूलाई कानूनी दायराभित्र रही कारोबार गर्न सुझाव दिएको छ भने उनीहरूको हकहितमा सधैं साथ रहने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमको प्रमुख आकर्षणको रूपमा अध्यक्ष हरि गौतमले खुद्रा व्यवसायीहरूले भोग्दै आएका दैनिक चुनौतीहरूलाई गम्भीरतापूर्वक लिँदै संघ समस्या समाधानका लागि तत्पर रहेको स्पष्ट पारे। गौतमले भने, “खुद्रा व्यवसायीहरू हाम्रो व्यवसायिक संरचनाको मेरुदण्ड हुन्। उनीहरूको समस्या हाम्रो पनि समस्या हो, र हामी समाधानका लागि प्रतिबद्ध छौं।”

संघले व्यापारीहरूसँगको प्रत्यक्ष सम्पर्क र समस्या समाधान प्रक्रिया सहज बनाउन एक हप्ताभित्र निःशुल्क हटलाइन सेवा सुरु गर्ने निर्णय समेत गरेको छ। अध्यक्ष गौतमका अनुसार, यस सेवा मार्फत व्यवसायीहरूले भन्सार, प्रशासन, सुरक्षाकर्मी लगायतका अवरोधहरूका बारेमा सिधै गुनासो राख्न सक्नेछन्।
कार्यक्रममा सहभागी व्यापारीहरूले विभिन्न समस्याहरूको सिलसिलावार विवरण प्रस्तुत गरेका थिए। भारतबाट सामान ल्याउँदा भन्सार प्रक्रियामा अनावश्यक झन्झट, प्रहरी प्रशासनको व्यवहार, र व्यवसायप्रति राज्यको उदासिनता लगायतका विषयमा व्यापारीहरू खुलेर बोले। व्यापारी रामप्रित तिवारीले भने, “राज्यलाई लाखौं कर तिरे पनि सुरक्षा र सम्मान नपाउनु दुःखद हो।”
संघले व्यापारीहरूको गुनासो सुनेर यथासक्य समाधान गर्ने र सम्बन्धित निकायमा संस्थागत रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएको छ।
व्यापारी र सरोकारवालाबीचको यस्तो खुला अन्तरक्रिया कार्यक्रम संघले समयसमयमा दोहोर्याउने तयारीसमेत जनाएको छ।









