अभिलाष गुप्ता
बिरगंज, २९ वैशाख
विश्व शान्तिका अग्रदूत शान्तिनायक भगवान बुद्धको २६४९ औं जन्म दिवस, २६१४ औं बुद्धत्व प्राप्ति दिवस र २५६९ औं महापरिनिर्वाण दिवसको त्रिसंयोगमा बिरगंज बौद्ध समितीको आयोजनामा एक भव्य धार्मिक कार्यक्रम सम्पन्न भएको छ। वैशाख पूर्णिमाको शुभ अवसरमा आयोजित यस कार्यक्रमले धार्मिक सहिष्णुता, मानवता र शान्तिको सन्देश फैलाएको छ।
सोमबार बिहान ७ बजे माईस्थान मन्दिर परिसरबाट प्रभातफेरीको शुभारम्भ भई घण्टाघर, लिंकरोड, वसपार्क चौक हुँदै ४० फिटा रोड र कृष्ण प्रणामी मन्दिर मार्ग भएर भिस्वा बुद्ध विहारमा पुगेर समापन गरिएको थियो। प्रभातफेरीमा विभिन्न गौतम माध्यमिक बिधालय लगाएत बिरगंजका विभिन्न बिधालयहरु,विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधिहरू, बौद्ध अनुयायीहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम बिरगंज बौद्ध समितीका अध्यक्ष प्रा.डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका क्रममा बुद्ध विहार तथा गुम्बामा लामागुरुहरूले विशेष पूजा, मन्त्रपाठ तथा ध्यान कार्यक्रम संचालन गरे। त्यस्तै, बौद्ध समितीले दिनभर निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमसमेत आयोजना गरेको थियो जसमा स्थानीय नागरिकहरूले लाभ उठाएका थिए।
कार्यक्रमको अन्त्यतिर बेलुकी ६ बजे दीप प्रज्वलन गरी विश्व शान्तिको कामनासहित बौद्ध अनुयायीहरूले ध्यान र मन्त्रोच्चारण गरेका थिए। बौद्ध परम्पराअनुसार उपस्थित श्रद्धालुहरूलाई प्रसाद वितरण गरिएको थियो।
बिरगंज बौद्ध समितीका महासचिव अधिवक्ता सुन्दर श्रेष्ठका अनुसार त्रिसंयोगको अवसरमा यस पटक कार्यक्रमलाई अझ व्यापक रूपमा आयोजना गरिएको हो।









