अभिलाष गुप्ता
वीरगञ्ज २९ बैशाख
दुई हजार ५६९औँ बुद्ध जयन्तीको अवसरमा वीरगञ्ज महानगरपालिका स्थित ऐतिहासिक तथा धार्मिक स्थल भिषवा डाँडामा मधेस प्रदेशकै पहिलो मणि खोर्लो स्थापना गरी विशेष कार्यक्रमसहित अनावरण गरिएको छ।
बौद्ध परम्परा अनुसार भिक्षुहरूद्वारा पूजा–अर्चना गरी स्थापना गरिएको मणि खोर्लो (प्रार्थना चक्र) को अनावरण वीरगञ्ज महानगरका नगर प्रमुख राजेशमान सिंहले गर्नु भएको हो। कार्यक्रममा प्रमुख सिंहले वीरगञ्जमा यस्तो धार्मिक संरचनाको स्थापना हुनुलाई गौरवको विषय बताउँदै यसले स्थानीय धार्मिक पर्यटनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
“मणि खोर्लो जस्तो पवित्र बौद्ध संरचना वीरगञ्जमा पहिलोपटक स्थापना हुनु महत्त्वपूर्ण उपलब्धि हो,” प्रमुख सिंहले भने, “यसले न केवल धार्मिक आस्था प्रवर्द्धन गर्छ, यसले हाम्रो सहरको पर्यटन व्यवसायमा समेत वृद्धि ल्याउनेछ।”
स्थानीय बौद्ध अनुयायीहरू र भिक्षुहरूको विशेष सहभागिता रहेको कार्यक्रममा बुद्ध जयन्तीको अवसरमा विशेष पूजा, मन्त्रोच्चारण तथा ध्यान कार्यक्रमहरू पनि आयोजित गरिएको थियो।भिषवा डाँडालाई बौद्ध धार्मिक र सांस्कृतिक गन्तव्यको रूपमा विकास गर्ने उद्देश्य सहित स्थापना गरिएको मणि खोर्लो भविष्यमा स्थानीय र विदेशी पर्यटकलाई आकर्षण गर्ने केन्द्र बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको अध्यक्षता श्रीमती सन्ध्या स्याङ्बो तथा गौतम स्कुलकी संस्थापक प्रीन्सिपल श्रीमती उर्मिला लामाको सभापतित्व र गुम्बाका वर्तमान अध्यक्ष श्री राम बहादुर थोकरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।









