अभिलाष गुप्ता
बैशाख ३० बिरगंज
बुद्ध जयन्तीको पावन अवसरमा बिकन माध्यमिक विद्यालयले आयोजना गरेको चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा विद्यालयका विभिन्न कक्षाका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए, जहाँ भगवान बुद्धको जीवन, शिक्षाहरू तथा शान्तिको सन्देश झल्कने विविध रचनात्मक चित्रहरू प्रस्तुत गरिएका थिए।
कार्यक्रमको प्रमुख आकर्षण बनेका यी चित्रहरूले बालबालिकाको सिर्जनात्मकता, आस्था र सामाजिक सन्देशलाई कलात्मक रूपमा उजागर गरेका थिए। उक्त प्रतियोगितामा उत्कृष्ट चित्र बनाउने विजेता विद्यार्थीहरूलाई विशेष पुरस्कार प्रदान गरिएको थियो।
विद्यालयका निर्देशक तथा समाजसेवी प्रकाश उपाध्यायले विजेता विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। उहाँले यस्ता सिर्जनात्मक कार्यक्रमहरू विद्यार्थीको बौद्धिक तथा भावनात्मक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जय कुमार द्नुवार, शिक्षक सुभाष भट्टराई लगायत अन्य शिक्षकगण तथा दर्जनौं विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयले हरेक वर्ष बुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रम गर्दै आइरहेको छ भने यस वर्षको चित्रकला प्रतियोगिता अझ प्रभावशाली रूपमा सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।
प्रतियोगितामा सहभागी चित्रहरू प्रदर्शनीका लागि केही दिनसम्म विद्यालय परिसरमै राखिनेछ, जसले अभिभावक र अन्य आगन्तुकहरूलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।
यस किसिमका कार्यक्रमहरूले विद्यार्थीसँगै अभिभावक र समुदायमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने विश्वासका साथ विद्यालयले आगामी दिनहरूमा अझ विविध कार्यक्रम ल्याउने जानकारी दिएको छ।









