२०८२ चैत्र १९ गते बिहीबार

जसपा नेपालद्वारा मलेसियामा प्रवासी नेपाली समितिको गठन, अध्यक्ष यादवको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम हुने

 

अभिलाष गुप्ता
बिरगंज, १६ जेठ

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले प्रवासी नेपालीलाई संगठित गर्ने उद्देश्यले मलेसियामा पार्टी विस्तार गर्ने तयारी गरेको छ। यही आगामी जुन १, २०२५ मा मलेसियाको होटेल ग्रान्ड कोन्टिनेन्टल, जलान बेलिआ, चोवकिट, क्वालालम्पुर मा भव्य कार्यक्रमको आयोजना गरिँदैछ।

कार्यक्रममा जसपा नेपालका केन्द्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव प्रमुख अतिथिको रूपमा सहभागी हुने भएका छन्। अध्यक्ष यादव मलेसिया पुगेर नेपाली कामदारहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्नेछन्।

मलेसियामा रहँदै आएका नेपाली कामदारहरूसँग प्रत्यक्ष संवाद गर्ने तथा उनीहरूको समस्या, अनुभव र सम्भावनाबारे जानकारी लिने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रममा जसपा अन्तर्राष्ट्रिय विभागअन्तर्गत ‘नेपाली समाज मलेसिया प्रवास समिति’ को पनि औपचारिक रूपमा घोषणा गरिने भएको छ।

कार्यक्रमका आयोजक तथा जसपा मलेसिया संयोजक बिनोद यादव ले जानकारी गराउँदै मलेसियालाई कर्मभूमि बनाएका सम्पूर्ण नेपाली कामदारहरूलाई कार्यक्रममा सहभागी भई सफल पार्न हार्दिक आह्वान गरेका छन्। उनले राजनीतिमा सक्रिय नभएका, तर उपेन्द्र यादवजस्ता राष्ट्रिय नेतासँग प्रत्यक्ष संवाद गर्न इच्छुक सबै नेपालीहरूलाई पनि कार्यक्रममा स्वागत गरिएको उल्लेख गरे।

संयोजक यादवका अनुसार, “म मलेसियामा रहँदा कुनै पनि नेपाली कामदारलाई समस्या परेमा व्यक्तिगत रूपमा सहयोग गर्दै आएको छु। यदि कसैलाई समस्या परेमा मसँग सिधा सम्पर्क गर्न सक्नुहुन्छ।” उनले आफ्नो सम्पर्क नम्बर +6012-3377943 सार्वजनिक गरेका छन्।

कार्यक्रममा अध्यक्ष यादवसँगै जसपा नेपालका केन्द्रिय कार्यकारिणी सदस्य राजकुमार गुप्ता, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, तथा परराष्ट्र मामिला विश्लेषक डा. निश्चलनाथ पाण्डे लगायतका विशिष्ट नेताहरूको उपस्थिति रहने संयोजक यादवले जनाएका छन्।

कार्यक्रम मलेसियामा रहेका नेपाली समुदायबीच राजनीतिक चेतना अभिवृद्धि गर्नुका साथै संस्थागत रूपमा प्रवासी नेपालीहरूलाई संगठित गर्न महत्वपूर्ण कदम हुने आयोजक समितिको विश्वास छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM