वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी भर्ना प्रकरणको विषयलाई लिएर आक्रोशित विद्यार्थीहरूले आज क्याम्पस परिसरमै व्यापक विरोध प्रदर्शन गर्दै मिटिङ हलमा तालाबन्दी गरेका छन्। लामो समयदेखि फर्जी भर्ना सम्बन्धी गम्भीर आरोप लगाउँदै आएका विद्यार्थीहरूले प्रशासनले सुनुवाइ नगरेको भन्दै आज क्याम्पस प्रमुखसहित केही शिक्षकलाई कार्यकक्षमै थुनेर विरोध जनाएका हुन्।
विद्यार्थीहरूले आरोप लगाएका छन् कि क्याम्पसमा हजारौँ रुपैयाँ असुलेर नक्कली कागजातमार्फत केही विद्यार्थीको अवैध रूपमा भर्ना गरिएको छ। यस्ता गम्भीर अनियमितताको बारेमा पटक–पटक उजुरी, प्रमाण र सार्वजनिक ध्यानाकर्षण गराउँदा समेत क्याम्पस प्रशासनले कुनै छानबिन सुरु नगरेको उनीहरूको भनाइ छ।
विरोधमा उत्रिएका एक विद्यार्थी नेताले आक्रोश पोख्दै भने, “महिनौँ भइसकेको छ, हामी प्रमाणसहित कुरा राखिरहेका छौँ, तर प्रशासन कानमा तेल हालेर बसेको छ। जबसम्म छानबिन हुँदैन, हामी चुप लाग्दैनौं।”
आजको प्रदर्शनक्रममा स्वतन्त्र युवा समूहका श्याम प्रसाद गुप्ता, समाजवादी विद्यार्थी युनियनका सागिर आलम र अखिल क्रान्तिकारीका अनिस पटेल पक्राउ परेका छन्। प्रहरीको टोलिले क्याम्पसमा प्रवेश गरी ती तीन विद्यार्थी नेताहरूलाई नियन्त्रणमा लिएको पुष्टि भएको छ। पक्राउपछि विद्यार्थीहरू झनै आक्रोशित बनेका छन् र थप आन्दोलनको चेतावनी दिएका छन्।
स्थानीय विद्यार्थी संगठनहरू, राजनीतिक युवा मोर्चाहरू र नागरिक समाजका केही प्रतिनिधिहरूले समेत घटनाको चासो लिँदै निष्पक्ष छानबिनको माग गरेका छन्।
क्याम्पस प्रशासन भने घटनाप्रति मौन देखिएको छ। प्रमुखको कार्यकक्षमा थुनिएका केही शिक्षक तथा कर्मचारीलाई पछि प्रहरीले उद्धार गरेको बुझिएको छ। प्रशासनले हालसम्म औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।
यस प्रकरणले ठाकुरराम क्याम्पसको शैक्षिक तथा प्रशासनिक छविमाथि गम्भीर प्रश्न उठाएको छ। विद्यार्थीहरू भने छानबिन प्रक्रिया सुरु नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन्।









