अभिलाष गुप्ता
वीरगंज जेठ ४
भारतको बिहार राज्य अन्तर्गत रामगढ़वा प्रहरीले ठूलो परिमाणमा लागुऔषध ‘Lqborate’ बरामद गरेको छ। बीआर 06W 6129 नम्बरको कारमा लुकाएर राखिएको ती औषधिहरू वीरगञ्जबाट काठमाडौँ तर्फ लैजान लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भारतीय प्रहरी स्रोतले जनाएको छ।
पुलिसको नियमित जाँचका क्रममा शंका लागेपछि कारभित्र राखिएको बक्सको विस्तृत खोजी गर्दा सात कार्टून लागुऔषध फेला परेको हो। ती औषधिहरू कारको लुकेरामा गोप्य रूपमा राखिएका थिए।
घटनास्थलमा बरामद भएको सवारीको रजिस्ट्रेशन सर्टिफिकेट (आरसी) र प्यान कार्डमा “पटना निवासी अनिल साह”को नाम उल्लेख रहेको पाइएको छ। यद्यपि हालसम्म उक्त घटनासँग प्रत्यक्ष संलग्न व्यक्तिहरू फरार रहेको र तिनीहरूको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरी स्रोतको भनाइ छ।
हालसम्म बरामद औषधिको कुल परिमाण र बजार मूल्य भने सार्वजनिक गरिएको छैन।
यस घटनाले नेपाल–भारत सीमामा लागुऔषध तस्करीको जोखिम अझै कायमै रहेको देखाएको छ। सुरक्षा निकायहरूले सीमा क्षेत्रमा यस्ता अवैध क्रियाकलाप रोक्न थप सतर्कता र निगरानी आवश्यक भएको बताएका छन्।









