अभिलाष गुप्ता
पर्सा जेठ ४
पर्साको जिराभवानी गाउँपालिकामा समुदायमा कानूनी चेतना फैलाउने उद्देश्यले “मुख्य न्यायाधिवक्ता संवाद कार्यक्रम” सम्पन्न भएको छ। मधेश प्रदेश सरकार अन्तर्गत मुख्य न्यायाधिवक्ताको कार्यालय, जनकपुरधाम धनुषाको आयोजना तथा जिराभवानी गाउँपालिका र वीरगंज जेसिसको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतोले संविधान र कानूनी व्यवस्था सबै नागरिकका लागि बराबर भएको उल्लेख गर्दै नागरिकले कानूनको दायरा भित्र रहेर सेवा र व्यवहार गर्नु पर्ने बताए। उनले बालविवाह, दाइजो, महिला हिंसा, छुवाछुत, भ्रष्टाचार, अनियमितता र घूसजस्ता गतिविधिहरू कानूनी रूपमा अपराध भएको भन्दै त्यस्ता कार्यहरूको विरुद्ध नागरिक स्वयं जागरुक हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक, कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारणले कानूनी प्रक्रिया, अपराध पहिचान तथा न्यायिक अधिकारबारे जिज्ञासा राखेका थिए। सहजीकरणको भूमिका प्रमुख न्यायाधिवक्ता महतोका साथै सहायक न्यायाधिवक्ता मनोहर लम्साल, कानूनी सहायता अधिकृत दिव्या सिंह, उपेन्द्र साह, रुबी कुमारी मेहता, चन्द्रदिय गोइत, गोविन्द पंडीत, दिपेन्द्र तैथबार यादव र सत्यम झाले निर्वाह गरेका थिए।

जिराभवानी–३ स्थित विवाह मण्डपमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अनोज चौधरी प्रमुख अतिथि रहेका थिए भने वडाध्यक्षहरू रामशरण ख्वास थारु, महादेव महतो थारु, सुरज राय थारु र दारा सिंह राउत थारुको उपस्थिति थियो। कार्यक्रमको स्वागत मन्तव्य वीरगंज जेसिसका अध्यक्ष तथा गाउँपालिका बोर्ड सदस्य सरोज चौरसियाले राखेका थिए।
कार्यक्रमले समुदायमा कानूनी चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।









