२०८२ चैत्र १९ गते बिहीबार

ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

 

 

अभिलाष गुप्ता
वीरगंज,०५ जेष्ठ

वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी भर्नाको विरोधमा आन्दोलनरत विद्यार्थी नेताहरू आज रिहा भएका छन्।

स्वतन्त्र युवा समूहका श्याम प्रसाद गुप्ता, समाजवादी विद्यार्थी युनियनका सागिर आलम र अखिल क्रान्तिकारीका अनिस पटेललाई क्याम्पस प्रमुखसहित केही शिक्षकलाई कार्यकक्षमा थुनेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई रिहा गरेसँगै क्याम्पस परिसरमा विद्यार्थीहरूको समूहले स्वागत गरेको छ।

विद्यार्थी नेताहरूले क्याम्पसमा भइरहेको फर्जी भर्ना प्रक्रियाविरुद्ध निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलन थालेका थिए। रिहा भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनीहरूले आफ्नो आन्दोलन मागका लागि भएको बताए।

“हामीले शिक्षामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न आवाज उठाएका हौँ,” स्वतन्त्र युवा समूहका गुप्ताले भने, “क्याम्पस प्रशासनले यस विषयलाई गम्भीर रूपमा लिनुपर्छ।”

घटनाले क्याम्पसको भर्ना प्रक्रिया र शैक्षिक नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको छ। विद्यार्थी संगठनहरूले छानबिन प्रक्रिया निष्पक्ष नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM