२०८२ चैत्र १९ गते बिहीबार

सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरणको ऐतिहासिक शुभारम्भ

 

काठमाडौं, ०५ जेठ

आजको दिन सिंहदरबारको पवित्र प्रांगणमा एक ऐतिहासिक क्षणको साक्षी बन्यो। मेलम्ची खानेपानी आयोजना अन्तर्गतको शुद्ध र सुरक्षित खानेपानी वितरण प्रणालीको औपचारिक शुभारम्भ गरिएको छ। अबदेखि सिंहदरबार क्षेत्रमा प्रयोग हुँदै आएको बोतल तथा जारको पानी विस्थापित भई मेलम्चीको स्वच्छ, सुरक्षित र भरपर्दो पानी वितरण सुरु भएको हो।

खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम विशेष महत्वको रह्यो। मन्त्री यादवले मेलम्चीको पानी स्वयं सेवन गरेर वितरण प्रणालीको शुभारम्भ गरे। कार्यक्रममा मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्य, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (के.यू.के.एल.) का प्रतिनिधि, विभिन्न विभागीय प्रमुखहरू तथा कर्मचारीहरूको उपस्थिति थियो।

कार्यक्रममा मन्त्री यादवले मेलम्चीको पानी वितरणलाई केवल एक सुरुआत नभई, सुशासन, पारदर्शिता र जनसेवाप्रतिको सरकारको प्रतिबद्धताको मूर्त उदाहरणसमेत भएको उल्लेख गरे। अबदेखि सिंहदरबारभित्रका सबै मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी सहज रूपमा उपलब्ध हुनेछ।

“हामीले पारदर्शी, दिगो र सस्तो पानी वितरण प्रणालीको स्थापनामार्फत प्रशासनिक क्षेत्रमा उदाहरणीय अभ्यासको थालनी गरेका छौं,” मन्त्री यादवले बताए।

उक्त अवसरमा उनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यो अभियानमा योगदान पुर्‍याउने सम्पूर्ण व्यक्तित्व, कर्मचारी वर्ग तथा सम्बन्धित निकायप्रति हार्दिक आभार प्रकट गरे।

कार्यक्रमको समापनमा मन्त्री यादवले भने, “जनताको सेवा गर्नु नै मेरो सर्वोच्च धर्म, कर्तव्य र सन्तोषको मूल स्रोत हो।”

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM