अभिलाष गुप्ता
बिरगंज ,०६ जेष्ठ
गर्भपतनसम्बन्धी सामाजिक मूल्यमान्यता, व्यवहार परिवर्तन र सुरक्षित स्वास्थ्य सेवाका सवालमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ काठमाडौंको युवा संस्थाको आयोजनामा चारदिने विशेष तालिम सुरु भएको छ। तालिमको उद्घाटन आज एक विशेष समारोहबीच बिरगंज महानगरपालिका–१० का वडाध्यक्ष सुशील साह कानुको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वडाध्यक्ष कानुले दिप प्रज्वलन गरेर गर्नुभयो। कार्यक्रममा युवा संचारकर्मी आँसु सर्राफको विशेष उपस्थिति रहेको थियो।
उक्त तालिम वीरगञ्ज महानगरपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि लक्षित गरिएको हो। स्वास्थ्य क्षेत्रमा कार्यरत फ्रन्टलाइन सेवा प्रदायकहरूलाई गर्भपतनसम्बन्धी सही जानकारी, कानुनी अवस्था, सामाजिक पूर्वधार, र व्यवहारिक चुनौतीहरूबारे स्पष्टता प्रदान गर्नु तालिमको मुख्य उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ।
वडाध्यक्ष सुशील साह कानुले आफ्नो मन्तव्यमा भने, “गर्भपतनजस्ता संवेदनशील विषयमा अझ धेरै जनचेतना आवश्यक छ। सही जानकारी र व्यवहार परिवर्तनले मात्र महिलाको स्वास्थ्य र अधिकारको सुनिश्चितता सम्भव हुन्छ। यस्तो किसिमको तालिमले समाजमा सकारात्मक परिवर्तन ल्याउने निश्चित छ।”
संचारकर्मी आँसु सर्राफले स्वास्थ्य र लैङ्गिक समानताको मुद्दामा सञ्चारमाध्यमको भूमिकालाई जोड दिँदै, यस्ता तालिमहरू न केवल सहभागीहरूको ज्ञान अभिवृद्धि गर्न, तर समाजमै दीर्घकालीन असर पार्ने बताउनुभयो।
तालिममा सहभागिहरूले सुरक्षित गर्भपतन, कानुनी अधिकार, सामाजिक कलंक, र व्यवहार परिवर्तनका दृष्टिकोणबाट विस्तृत छलफल र अभ्यास गरिनेछ। प्रशिक्षकहरूद्वारा सहभागिहरूलाई अन्तरक्रियात्मक शैलीमा विषयवस्तु बुझाइनेछ।
समाप्ति समारोहसम्म तालिमले सहभागीहरूमा व्यवहारिक दक्षता, संवेदनशीलता र सहानुभूतिपूर्ण सेवा प्रवाहमा नयाँ दृष्टिकोण विकास गराउने अपेक्षा गरिएको छ। आयोजक युवा संस्थाले यस्ता कार्यक्रमलाई नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।









