अभिलाष गुप्ता
बिरगंज ०७ जेष्ठ
पर्साको परवानीपुर चोकबाट मानसिक रुपमा अस्वस्थ देखिएका एक पुरुषको मंगलबार राति ८ बजे मानवसेवा आश्रम वीरगन्जले उद्धार गरेको छ। उद्धार गरिएका पुरुष करिब ४० वर्षका छन् र आफ्नो नाम, थर बताउन असमर्थ रहेका छन्।
उद्धारको क्रममा मानवसेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ता, समाजसेवी प्रकाश थारु, स्थानीय बासिन्दा तथा प्रहरीको उपस्थिति रहेको थियो। उद्धारपछि उनलाई आश्रम ल्याइ नुहाइ–धुवाइ गराएर शारीरिक सफाइ गरिएको तथा थप उपचार आश्रमकै आवद्ध चिकित्सक डा. भरत कुमार गोइतद्वारा भइरहेको आश्रमले जानकारी दिएको छ।
मानवसेवा आश्रम वीरगन्जका अनुसार, २०७६ सालको जेठ १५ गते स्थापना भएको यो शाखाले हालसम्म २७६ जनाको उद्धार गरिसकेको छ। तीमध्ये ९७ जनाको पारिवारिक पुनर्मिलन गराइएको आश्रमका संस्थापक गुप्ताले जानकारी दिए।
हाल सिरिसियास्थित आश्रममा ५७ जना महिला, पुरुष तथा बालबालिका आश्रित छन्।
मानवसेवा आश्रमले समाजमा बेवारिसे, मानसिक तथा शारीरिक रुपमा कमजोर अवस्थाका व्यक्तिहरूको उद्धार र संरक्षण गर्दै आएको छ।









