२०८२ चैत्र ५ गते बिहीबार

वीरगञ्जको मुख्य नाला सफा हुँदै, डुबान समस्याको दीर्घ समाधानतर्फ महानगर

 

अभिलाष गुप्ता
वीरगञ्ज,०८ जेष्ठ

वीरगञ्ज महानगरपालिकाले दशकौँदेखि सफा नभएको मुख्य नालाको व्यापक सरसफाइ अभियान सुरु गरेको छ। प्रत्येक वर्ष मनसुनमा डुबानको समस्या भोग्दै आएको वीरगञ्ज बजार क्षेत्रलाई सुरक्षित बनाउने उद्देश्यले महानगर प्रमुख राजेशमान सिंहको अगुवाइमा यो अभियान सञ्चालनमा आएको हो।

वर्षौंदेखि फोहोर, प्लास्टिक, माटो, ढुंगा र निर्माणजन्य अवशेषले पुरिएको मुख्य नाला वर्षातको समयमा अवरुद्ध हुँदै बजार क्षेत्र जलमग्न हुने गरेको थियो। स्थानीयवासी तथा व्यापारीले पटक–पटक सरसफाइको माग गर्दा पनि अहिलेसम्म ठोस पहल नभएको गुनासो गर्दै आएका थिए।

डोजरदेखि जनशक्तिसम्मको परिचालन
महानगरले सफाइ कार्यलाई प्रभावकारी बनाउन डोजर, जेसिबी, ट्रकसहितका उपकरण तथा ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ। महानगर प्रमुख सिंहले सफाइ कार्यलाई प्राथमिकतामा राख्दै विशेष कार्यदल गठन गरी योजनाबद्ध रूपमा काम अघि बढाइएको जानकारी दिए।

“यो केवल सुरुआत हो,” सिंहले बताए, “हामी नाला सफा गरेर मात्र होइन, यसको दीर्घकालीन व्यवस्थापन सुनिश्चित गर्न संरचनागत सुधार र नियमित अनुगमन प्रणाली पनि विकास गर्दैछौं।”

स्थानीय तहबाट सकारात्मक प्रतिक्रिया
स्थानीय व्यापारी तथा बासिन्दाले महानगरको यो पहलप्रति सन्तोष व्यक्त गरेका छन्। उनीहरूका अनुसार वीरगञ्जले वर्षौंदेखि भोग्दै आएको डुबान समस्याको समाधानतर्फ यो अभियान महत्वपूर्ण मोड हो।

अबको मुख्य चुनौती भनेको सफाइपछिको नियमित निगरानी र नालाको प्रवाह कायम राख्न आवश्यक संरचनागत सुधार गर्ने हो। सरसफाइ मात्र नभई, दीर्घकालीन योजनाबद्ध उपाय अपनाउन सकेमा वीरगञ्ज सहरलाई डुबानमुक्त बनाउने सम्भावना देखिएको छ।

महानगरले अन्य क्षेत्रका नालाहरू पनि चरणबद्ध रूपमा सफा गर्दै लैजाने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM