अभिलाष गुप्ता
वीरगञ्ज, ८ जेठ
नेपाल राष्ट्र बैंक वीरगञ्जले आयोजना गरेको एक कार्यक्रमले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायीहरू र अन्य सरोकारवालाबीच आर्थिक तथा बैंकिङ्ग गतिविधि सम्बन्धी व्यापक छलफल भएको छ।
कार्यक्रममा मुलुकको वर्तमान आर्थिक अवस्था, राष्ट्र बैंकको भूमिका, व्यवसायीहरूको बैंक तथा राष्ट्र बैंकसँगको अपेक्षा, गुनासो र सुझावबारे विस्तृत कुराकानी गरिएको थियो। नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक सुशील पौडेलले बैंकको क्षेत्रीय भूमिका, कार्य सम्पादन र आगामी योजना प्रस्तुत गर्दै निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले वाणिज्य बैंकहरूको भूमिका समयसापेक्षरूपमा परिवर्तन हुनुपर्ने र निजी क्षेत्रलाई प्रबर्द्धन गर्ने दिशामा बैंकहरू अघि बढ्नुपर्ने बताए।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले राष्ट्र बैंक वीरगञ्जको यो पहलले बैंक र निजी क्षेत्रबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले अहिलेको आर्थिक अवस्था सहज नभएको जनाउँदै बैंकिङ प्रणाली व्यवस्थित र व्यवसायमैत्री हुनुपर्ने धारणा राख्नुभयो।
संघका अन्य पदाधिकारीहरूले समेत चालु पूँजी कर्जासम्बन्धी निर्देशिका अद्यावधिक गर्नुपर्ने, राष्ट्र बैंकको गुनासो सुनुवाइ डेस्कलाई प्रभावकारी बनाउनुपर्ने, तथा बैंकहरूले निर्देशिका जारी गर्दा व्यावसायिक पक्षलाई ध्यान दिनुपर्ने जस्ता महत्वपूर्ण बुँदाहरू उठाए।
कार्यक्रममा व्यापारी तथा यात्रुहरूले रकम बोकेको आधारमा हुण्डी कारोबारीको आरोपमा प्रहरीबाट हैरानी पाएको गुनासोसमेत उठाइएको थियो। साथै, वैध माध्यमबाट रकम पठाउँदा समेत उच्च शुल्क लाग्ने समस्याप्रति बैंकहरूले ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको थियो।
कार्यक्रममा वाणिज्य बैंकका मधेश प्रदेश प्रमुख तथा शाखा प्रबन्धकहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
यो छलफलले बैंकिङ क्षेत्र र निजी क्षेत्र बीचको समन्वयलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।









