अभिलाष गुप्ता
बिरगंज ०९ जेष्ठ
बिरगंजस्थित ममता बिधा मन्दिर कलेजले कक्षा १२ का विद्यार्थीहरूको सम्मानमा एक भव्य बिदाई कार्यक्रमको आयोजना गर्दै नयाँ अध्यायमा प्रवेश गर्न लागेका विद्यार्थीहरूलाई शुभकामना प्रदान गरेको छ।
टाउनहल, बिरगंजमा आयोजित उक्त कार्यक्रम कलेजका संस्थापक शम्भु प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भयो। समारोहको उद्घाटन प्रमुख अतिथि बिरगंज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरि प्रसाद गौतम र विशिष्ट अतिथिहरूद्वारा पानसमा दिप प्रज्वलन गरी गरियो।
कार्यक्रममा बोल्दै संस्थापक गुप्ताले विद्यालयले विगत १४ वर्षदेखि माध्यमिक तहसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र एक वर्षदेखि कलेज तहको पनि प्रभावकारी रूपमा संचालन भईरहेको जानकारी गराए। उनले शिक्षाको माध्यमबाट नै राष्ट्रको प्रगति सम्भव हुने कुरामा जोड दिंदै बिरगंजमा ममता बिधा मन्दिर कलेजले छुट्टै पहिचान बनाउन सफल भएको बताए।
कार्यक्रममा स्वागत मन्तव्य शिक्षक राम प्रसाद सोनिले राखेका थिए। उनले विद्यार्थीहरूको शैक्षिक प्रगति र कलेजको आगामी योजना बारे संक्षिप्त जानकारी दिएका थिए।
उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले विद्यार्थीसँग सकारात्मक सोच, मेहनत र इमान्दारिता कायम राख्न आग्रह गर्दै पत्रकारिताको भूमिकाबारे समेत मन्तव्य राखे। कार्यक्रमका अर्का अतिथि अनुप अग्रवालले जीवनमा आएको हरेक अवसरलाई उपयोग गर्न विद्यार्थीहरूलाई प्रेरणा दिएका थिए।
कलेजका अन्य शिक्षक तथा शिक्षिकाहरू – विश्वास प्रसाद गुप्ता, काशी राम पटेल, सोभा देवी, नितु साह, जेनिस सर, दिपेन्द्र नारायण,डिके सर,आसा देवी लगायतको विशेष उपस्थिति रहेको कार्यक्रममा सांस्कृतिक कार्यक्रम, छात्रछात्राको अनुभव प्रस्तुतिहरू तथा अभिभावक प्रतिनिधिहरूद्वारा शुभकामना मन्तव्यहरू पनि प्रस्तुत गरिएका थिए।
कार्यक्रमको सञ्चालन कलेजकी शिक्षिका ममता ठाकुरले गरेका थिइन्। उनले भावनात्मक प्रस्तुतिका साथ सम्पूर्ण कार्यक्रमलाई सम्हाल्दै सहभागीहरूलाई अनुशासित रूपमा सहकार्य गर्न प्रेरित गरिन्।
बिदाई कार्यक्रममा सहभागी विद्यार्थीहरूले शिक्षाप्रतिको कृतज्ञता, शिक्षकमाथिको सम्मान र भविष्यप्रतिको आकांक्षाहरू अभिव्यक्त गरेका थिए। कार्यक्रमले उपस्थित सबैमा एकता, उत्साह र प्रेरणाको वातावरण सिर्जना गरेको थियो।









