अभिलाष गुप्ता
वीरगञ्ज, १२ जेठ
नेपाल इनोभेटिभ सोसाइटीको आयोजनामा तथा वीरगञ्ज नर्सिङ क्याम्पसको सहकार्यमा एक दिने मोटिभेसनल तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। वीरगञ्ज नर्सिङ क्याम्पसको परिसरमा आयोजित कार्यक्रममा करिब १०० जना नर्सिङ विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा डा. निरज कुमार सिंहले “जीवन र त्यो एक घण्टा” विषयमा समय व्यवस्थापन तथा उद्देश्यपूर्ण जीवनशैलीको महत्त्वबारे प्रेरणादायी विचार प्रस्तुत गरे। अर्का प्रमुख वक्ता डा. प्रीति यादवले “सकारात्मक मानसिक स्वास्थ्य जागरूकता” विषयमा विद्यार्थीहरूलाई मानसिक सशक्तिकरण तथा सकारात्मक सोच विकास गर्न सकिने उपायहरूबारे मार्गदर्शन गरिन्।
कार्यक्रमकी प्रमुख अतिथि तथा वीरगञ्ज नर्सिङ क्याम्पसकी क्याम्पस प्रमुख डा. कल्पना पौडेलले नर्सिङ पेशामा प्रेरणा र मानसिक स्वास्थ्यको भूमिका विशेष महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता तालिमहरूले विद्यार्थीहरूलाई दीर्घकालीन रूपमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।
नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष श्री कमल चौगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी कोषाध्यक्ष श्रीमती मौसमी सुनुवार रानाको समन्वय रहेको थियो। उनले यस्ता शैक्षिक तथा प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वीरगञ्ज महानगरपालिका–४ का वडा अध्यक्ष श्री जगत प्रसाद साह कानु, वडा प्रहरी कार्यालय विर्ताका इन्स्पेक्टर श्री निरोज चौलागाई, नेपाल इनोभेटिभ सोसाइटीका सचिव श्री ऋषि राज साट्याल, स-सचिव तथा लिटिल बड्डी प्रिस्कूलका निर्देशक श्री विजय कुमार बल, सदस्य डा. स्वाति गुप्ता तथा वीरगञ्ज नर्सिङ क्याम्पसकी विभाग प्रमुख श्रीमती सबिना अधिकारीको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन निशा साहले गरेकी थिइन्, जसले सम्पूर्ण कार्यक्रमलाई आकर्षक तथा व्यवस्थित रूपमा सञ्चालन गरिन्।
कार्यक्रमको अन्त्यमा अध्यक्ष श्री कमल चौगाईले सहभागी सबै अतिथि तथा विद्यार्थीहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिए।








