२०८२ फाल्गुन २३ गते शनिबार

नेरामावि नगवामा साइबर अपराध सम्बन्धी सचेतनामूलक प्रशिक्षण सम्पन्न

 

अभिलाष गुप्ता
वीरगंज, जेठ ११

सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले वडा प्रहरी कार्यालय बिर्ताको सहकार्यमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नगवा–१६ मा आइतबार साइबर अपराध सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरीक्षक निरोज चौलागाईंले विद्यालयका कक्षा ८ र ९ का विद्यार्थीलाई वृत्तचित्रमार्फत साइबर अपराधका विभिन्न पक्षबारे जानकारी गराएका थिए। उनले साइबर अपराधका प्रकार, त्यसबाट हुने हानी–नोक्सानी, कानुनी सजाय तथा सजगता अपनाएर कसरी यस्ता अपराधबाट जोगिन सकिन्छ भन्ने विषयमा विस्तृत रुपमा प्रशिक्षण प्रदान गरे। उनले विद्यार्थीहरूलाई सचेत रहन र सुरक्षित इन्टरनेट प्रयोग गर्न आग्रहसमेत गरे।

प्रशिक्षणको क्रममा विद्यार्थीहरूले साइबर अपराधसम्बन्धी आफ्ना जिज्ञासाहरू राखेका थिए, जसको स्पष्ट र सहज तरिकाले जवाफ दिँदै चौलागाईंले उनीहरूलाई सन्तुष्ट पारेका थिए।

कार्यक्रम सामुदायिक प्रहरी कुम्हालटोलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्र, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, मुनलाइट स्कुलका निर्देशक श्याम केसी, सामुदायिक प्रहरी कुम्हालटोलका उपाध्यक्ष सन्जु दहाल, सहकोषाध्यक्ष प्रमोद कुशवाहा, सदस्यहरू सावित्री भुमिहार, तारा विष्ट, ज्ञानमाया रायमाझी, सुशिल श्रीवास्तव, प्रहरी हवल्दार कुमार विक, प्रज रेनु यादव, शिक्षक सरिता खड्गी लगायत विद्यालयका अन्य शिक्षक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM