अभिलाष गुप्ता
वीरगंज, १३ जेठ
बीमा व्यवसायमा देखिएका विविध समस्यामाथि सोमबार वीरगंजमा छलफल सम्पन्न भएको छ। वीरगंज उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी उद्योगी तथा व्यापारीहरूले बीमा प्रिमियमको दर, ट्रान्जिट इन्स्योरेन्स पोलिसीको अस्पष्टता र नीति निर्माण प्रक्रियामा व्यवसायीको सहभागिताको अभावप्रति गम्भीर चिन्ता व्यक्त गरे।
संघका कार्यवाहक अध्यक्ष माधव राजपालले बीमा कम्पनीहरूले बीमाको दर अनावश्यक रूपमा बढाएको कारण व्यवसायीहरूले आर्थिक भार बेहोरिरहेको बताएका थिए। उनले नेपाल बीमा प्राधिकरणलाई व्यवसायीका समस्या सुनेर समाधान खोज्न आग्रह गरे।
नेपाल बीमा प्राधिकरण मधेश प्रदेशका अध्यक्ष प्रीति देवले व्यवसायीहरूको चासोप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी नीति निर्माणमा निजी क्षेत्रको सुझावलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन्। उनले व्यवसायमैत्री वातावरण निर्माणका लागि व्यवसायीहरूको सुझाव र सहकार्यलाई प्राधिकरणले उच्च प्राथमिकता दिने बताइन्।
कार्यक्रममा नेपाल औषधी उत्पादक संघका केन्द्रीय उपाध्यक्ष प्रभात रुंगटा, संघका कोषाध्यक्ष अनोज रुंगटा, सचिव सुशान्त चाचान, सह–कोषाध्यक्ष निरज अग्रवाल, उद्योगी बिनित लोहिया लगायतका व्यापारीहरूले बीमा प्रक्रिया पारदर्शी र व्यावहारिक बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले ट्रान्जिट इन्स्योरेन्ससम्बन्धी नीतिमा स्पष्टता ल्याउन आग्रह गरेका थिए।
संघले यस्ता छलफल कार्यक्रमहरूलाई निरन्तरता दिँदै व्यवसायीहरूको आवाज सम्बन्धित निकायसम्म पुर्याउने जनाएको छ। कार्यक्रममा महासचिव शिवजी प्रसाद साहले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।








