२०८२ चैत्र १८ गते बुधबार

ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको प्रस्तुतिमा “मारवाडी प्रिमियर लीग २०२५”सेमिफाइनल सम्पन्न

 

अभिलाष गुप्ता
जेष्ठ १३ बिरगंज

सुशील कुमार खेतान (टिपु) को स्मृतिमा आयोजित मारवाडी प्रिमियर लीग २०२५ अन्तर्गत मंगलवारका दिन भएको सेमिफाइनल खेलहरुले उत्साहजनक माहोल सिर्जना गर्यो।

मारवाडी युवा मञ्च, वीरगञ्जको सह-आयोजनामा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रद्वारा सञ्चालित यो प्रतियोगिता वीरगञ्जको एक प्रमुख खेल महोत्सवका रूपमा स्थापित हुँदै गएको छ।

पहिलो सेमिफाइनलमा भिडन्त : टाइटन्स ११ बनाम जग शक्ति फोर्स पहिलो सेमिफाइनल खेलमा टाइटन्स ११ र जग शक्ति फोर्सबीच प्रतिस्पर्धा भयो। टस जितेर ब्याटिङ गरेको जग शक्ति फोर्सले कमजोर प्रदर्शन गर्दै मात्र ७० रनमा सम्पूर्ण विकेट गुमायो। जवाफी पारीमा टाइटन्स ११ ले उत्कृष्ट प्रदर्शन गर्दै ९ विकेटले खेल जित्न सफल भयो। टाइटन्स ११ ले ७१ रन मात्र १ विकेटको क्षतिमा हासिल गर्दै सहज जित दर्ता गर्यो।

दोस्रो सेमिफाइनलमा रोमाञ्चक भिडन्त : वीरगञ्ज बाशर्स बनाम ट्रिगर आउट बुल्स

दोस्रो सेमिफाइनल खेलमा वीरगञ्ज बाशर्स र ट्रिगर आउट बुल्सबीच रोमाञ्चक प्रतिस्पर्धा देखिएको थियो। पहिलो ब्याटिङ गर्दै वीरगञ्ज बाशर्सले १०० रन बनायो। जवाफी ब्याटिङमा ट्रिगर आउट बुल्सले ५ विकेटको क्षतिमा ८९ रन मात्र बनाउन सक्यो र ११ रनले पराजित भयो। वीरगञ्ज बाशर्स फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बन्यो।

खेलाडी सम्मान कार्यक्रम

खेलको अन्त्यमा आयोजित पुरस्कार वितरण समारोहमा नेपाल ईनोभेटिभ सोसाइटीका अध्यक्ष श्री कमल चौगाईं, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख श्री लोकराज भट्ट तथा वीरगञ्ज महानगरपालिकाका प्रशासकीय अधिकृत अर्बिन्द लाल कर्णको उपस्थितिमा “म्यान अफ द म्याच” र उत्कृष्ट खेलाडीहरुलाई ट्रफी र पुरस्कार प्रदान गरियो।

मारवाडी प्रिमियर लीग २०२५ को फाइनल खेलप्रति सर्वसाधारणको चासो र उत्साह उल्लेखनीय देखिएको छ। आयोजक मण्डलले खेलप्रेमीहरूमाझ क्रिकेटको लोकप्रियता अझ विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM