२०८२ चैत्र १८ गते बुधबार

वीरगंजको विभिन्न वडामा निर्माण भइरहेको कालोपत्रे सडकको महानगर प्रमुखद्वारा निरीक्षण

 

अभिलाष गुप्ता
वीरगंज १४ जेष्ठ

वीरगंज महानगरपालिका वडा नं. २७ स्थित उदयपुरघुर्मीमा निर्माणाधीन कालोपत्रे सडकको महानगर प्रमुख राजेशमान सिंहले निरीक्षण गर्नुभएको छ ।

हाल सो सडकमा कालोपत्रे प्रक्रिया अघि बढाउन अतिक्रमण हटाउने कार्य र सडकको बेस निर्माणको काम तीव्र गतिमा भइरहेको छ । निरीक्षणको क्रममा महानगर प्रमुख सिंहले निर्माण कार्यको गुणस्तरप्रति ध्यान दिनु पर्नेमा जोड दिनुभयो । साथै, समयमै कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । यस्तै वडा नं. २१ परवानीपुरमा निर्माणाधीन सडकको पनि महानगर प्रमुख सिंहले आजै निरीक्षण गर्नु भएको छ । वडा नं. २१ मुख्य सडकबाट पटेल नगरतर्फ जाने सडक निर्माणमा भएको अवरोध हटाएर अहिले निर्माणको काम धमाधम भइरहेको छ ।

यस्तै वडा नं. १४ स्थित सानो पिप्रा बौद्धिमाईमा सम्पन्न भएको कालो पत्रे सडकको पनि उहाँले निरीक्षण गर्नु भएको छ । सडक निरीक्षणको क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वडा नं. २७ का वडाध्यक्ष हृदयनारायण प्रसाद कुर्मी, स्थानीय वासिन्दा तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

स्थानीय बासिन्दाहरूले सडक निर्माणले आवागमन सहज हुनुका साथै आर्थिक र सामाजिक विकासमा समेत टेवा पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।


वीरगंज महानगरपालिकाले विभिन्न वडाहरूमा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक, ढल र खानेपानी जस्ता परियोजनाहरूमा तीव्रता दिएको छ । महानगरको ग्रामिण क्षेत्रलाई बजारसँग जोड्न अहिले हरेक वडामा कालो पत्रे सडक निर्माणको काम तीव्र रुपमा भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM