अभिलाष गुप्ता
वीरगञ्ज,१५ जेष्ठ
१८औं गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज महानगरपालिकाले विशेष दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ। उप–प्रमुख श्री इम्तियाज आलमज्यूको विशेष सहभागितामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय एकता, लोकतन्त्र र गणतन्त्रप्रतिको सम्मान प्रकट गरिएको थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी, युवा तथा सर्वसाधारणहरूको उत्साहजनक उपस्थिति रहेको थियो। दीप प्रज्वलनपछि आयोजित औपचारिक समारोहमा बोल्दै उप–प्रमुख आलमले गणतन्त्रले नागरिकलाई प्रदान गरेका अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा संवर्द्धन गर्न सबै नागरिक आ–आफ्नो क्षेत्रबाट जिम्मेवार बन्नु आवश्यक रहेको धारणा राख्नुभयो।
सहभागीहरूका अनुसार दीप प्रज्वलन कार्यक्रमले राष्ट्रिय गौरव, समावेशिता, सहिष्णुता र लोकतान्त्रिक मूल्यहरूलाई सशक्त रूपमा उजागर गरेको छ।
कार्यक्रमको समापन राष्ट्रिय गानको सामूहिक गायन र दीप प्रज्वलनमार्फत गरियो।








