२०८२ फाल्गुन २० गते बुधबार

निःशुल्क दन्त जाँच एवं स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न

 

अभिलाष गुप्ता
बिरगंज, जेष्ठ १६

नेपाल हेल्थ कोर्प्स, नेशनल मेडिकल कलेज, तथा ग्लोबल एसोसिएसन अफ इण्डियन मेडिकल स्टुडेन्ट्सको संयुक्त आयोजनामा र गौतम माध्यमिक विद्यालयको सहकार्यमा एकदिने निःशुल्क दन्त जाँच तथा मौखिक स्वास्थ्य सचेतना शिविर शुक्रबार, बिरगंजस्थित गौतम माध्यमिक विद्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त शिविरको उद्देश्य विद्यालय तहका बालबालिकामा प्रारम्भिक दन्त रोगको पहिचान गर्नुका साथै मौखिक स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्नु रहेको थियो। कार्यक्रममा कक्षा १, २ र ३ मा अध्ययनरत सबै विद्यार्थीहरूको दन्त परीक्षण गरिएको थियो। परीक्षणका क्रममा विद्यार्थीहरूलाई दाँत सफा गर्ने तरिका, मुख स्वच्छ राख्नुपर्ने कारण, दैनिक जीवनशैलीमा पालन गर्नुपर्ने दन्त सरसफाइका उपायहरूबारे जानकारी प्रदान गरिएको थियो।

शिविरमा १४ जना समर्पित MBBS र BDS तहका विद्यार्थीहरू स्वयंसेवकका रूपमा सहभागी थिए। उनीहरूको टोलीको नेतृत्व दन्त तथा मुख स्वास्थ्यमा सक्रिय युवा स्वयंसेवी दिलसाद अहमद खानले गरेका थिए। टोलीले अत्यन्तै लगनशील रूपमा परीक्षण र परामर्श कार्य सञ्चालन गरेको विद्यालय प्रशासनले जानकारी दिएको छ।

शिविरमा सहभागी विद्यार्थीहरू मात्र होइन, विद्यालयका शिक्षक/शिक्षिका तथा अभिभावकसमेत कार्यक्रमप्रति सन्तुष्ट देखिए। विद्यालयका प्रधानाध्यापकले यस किसिमका स्वास्थ्य शिविरहरूले बालबालिकामा सानैदेखि स्वास्थ्यप्रति जिम्मेवार बनाउने कार्यमा मद्दत पुग्ने बताउँदै, आगामी दिनमा यस्ता कार्यक्रम पुनः सञ्चालन गरिने आशा व्यक्त गरे।

कार्यक्रमको समापनमा नेपाल हेल्थ कोर्प्सका प्रतिनिधिहरूले सबै स्वयंसेवक, विद्यालय प्रशासन, शिक्षकगण र विद्यार्थीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्ता जनस्वास्थ्यका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।

स्वास्थ्यप्रतिको चेतनाका लागि आयोजित यस्ता निःशुल्क शिविरहरू सामुदायिक स्तरमा निकै उपयोगी र आवश्यक हुने भएकाले यस कार्यक्रमलाई सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM