अभिलाष गुप्ता
वीरगञ्ज, जेष्ठ १६
भोजपुरी भाषा र संस्कृतिको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यसहित भोजपुरी प्रतिष्ठान, वीरगञ्जले सञ्चालन गर्दै आएको ‘आपन भाषा, आपन पहिचान’ अभियान अन्तर्गत दोस्रो साप्ताहिक कार्यक्रम वीरगञ्ज चिनीमिलस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा शुक्रबार सम्पन्न भएको छ।
कार्यक्रम प्रतिष्ठानका सदस्य सचिव अमित अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि सल्लाहकार प्रमोद पाण्डे, अतिथि अस्मिता पटेल, विशिष्ट अतिथिका रूपमा शिक्षक सन्नी दुवे र शिक्षिका सिता अधिकारीको उपस्थिति रहेको थियो।
कार्यक्रममा अमोद गुप्ता र अस्मिता पटेलले भाषा, साहित्य तथा मातृभाषाको महत्वबारे मन्तव्य राख्दै आफ्ना भोजपुरी रचनाहरू प्रस्तुत गरे। प्रमुख अतिथि प्रमोद पाण्डेले भाषा र बोलीको स्पष्ट भिन्नता प्रस्टाउँदै मातृभाषाको मानवीकरण र मानकीकरण अपरिहार्य रहेको बताएका थिए। उनले भोजपुरी भाषाले विश्वभर सांस्कृतिक छाप छोडिरहेको उल्लेख गर्दै यसको संरक्षण, प्रवर्द्धन र दैनिक प्रयोगमा सबै वर्गले योगदान दिनुपर्नेमा जोड दिए।
गत साता सम्पन्न पहिलो कार्यक्रमबाट प्रेरित भई यो साता विद्यार्थीहरूको सहभागिता झनै उत्साहजनक देखिएको थियो। कक्षा ९ की छात्रा मनिषा कुमारी पण्डितले छठ पूजा तथा विवाहमा गाइने पारम्परिक भोजपुरी गीतहरू प्रस्तुत गर्दा कार्यक्रमको माहोल भावनात्मक र सांस्कृतिक रुपमा समृद्ध बनाएको थियो।
त्यस्तै, श्याम सर्राफले भोजपुरी गीतहरूको सांस्कृतिक महत्व, परम्परा र संस्कारमा यसको भूमिका विषयमा प्रकाश पारे। उनले विभिन्न सांस्कृतिक अवसरहरूमा गाइने लोक गीतहरू प्रस्तुत गर्दै उपस्थित सबैलाई मन्त्रमुग्ध पारे।
कार्यक्रमको सञ्चालन माधुरी महतोले गरेकी थिइन् भने मुकेश महतोको उपस्थिति रहेको थियो।
भोजपुरी प्रतिष्ठानका सदस्यहरूका अनुसार यो अभियान वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहको परिकल्पनामा आधारित छ, जसअन्तर्गत बालबालिकामा आफ्नै भाषा, साहित्य, कला, संस्कार र संस्कृतिप्रति रुचि, गर्व र आत्मीयता जागृत गराउने उद्देश्यले विभिन्न विद्यालयहरूमा कार्यक्रम सञ्चालन भइरहेको छ।
कार्यक्रममा सहभागी शिक्षक, विद्यार्थी र अभिभावकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। उनीहरूका अनुसार यस्तो कार्यक्रमले नयाँ पुस्तामा आफ्ना मौलिक संस्कार र सांस्कृतिक सम्पदाप्रति जोड र गर्व बढाएको छ।









