२०८२ फाल्गुन १९ गते मंगलवार

भूमिसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न, दलित र अल्पसंख्यकको भूमिसम्बन्धी समस्यालाई मुख्य अजेन्डा बनाउने प्रतिबद्धता

 

अभिलाष गुप्ता
परवानिपुर,१७ पर्सा

राष्ट्रिय भूमि मंच, परवानिपुरद्वारा आयोजना गरिएको भूमिसम्बन्धी अन्तर्क्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पर्सा जिल्ला भूमि आयोगका अध्यक्ष तबरेज अहमदको आतिथ्यता रहेको थियो। कार्यक्रमका सहभागीहरूले भूमि अधिकारसँग सम्बन्धित समस्या र चुनौतीहरूबारे गहन छलफल गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अहमदले भूमिको समस्या विशेष गरी दलित, अल्पसंख्यक तथा राज्यको मूल प्रवाहमा नपरेका समुदायसँग जोडिएको उल्लेख गरे। उनले भने, “भूमिको सवाल केवल जमीनको मात्र होइन, यो सामाजिक न्याय र अधिकारको विषय हो। राज्यमा अझै पनि यस्ता समुदाय छन् जो दशकौँदेखि आफ्नो अधिकारबाट वञ्चित छन्। म निर्वाचित जनप्रतिनिधिको रूपमा बुझ्दछु कि यिनै समस्याहरूलाई मुख्य अजेन्डा बनाउनु जरुरी छ।”

उनले अझै पनि निराश नहुन सहभागीहरूलाई आग्रह गर्दै थपे, “हामी सबै मिलेर यो विषयलाई मुख्य राष्ट्रिय एजेन्डा बनाउन सक्नुपर्छ। आ–आफ्नो ठाउँबाट पहल गरे मात्र समाधान सम्भव छ।”

कार्यक्रममा सहभागी स्थानीय सरोकारवाला र समुदायका प्रतिनिधिहरूले आ–आफ्नो धारणा राख्दै कतिपय स्थानीय तहहरूले भूमि समस्यालाई गम्भीरतापूर्वक लिएर समाधानको पहल थालेको जानकारी पनि साझा गरे। सहभागीहरूले विशेष गरी भूमिहीन दलित, जनजाति, सुकुम्बासी र सीमान्तकृत समुदायको पीडाबारे प्रकाश पार्दै सरकारसँग तत्कालीन सुधारात्मक कदम चाल्न आग्रह गरे।

कार्यक्रमले भूमिसम्बन्धी सवालमा जनप्रतिनिधि, सरकारी निकाय र स्थानीय समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेको सन्देश दिएको छ। कार्यक्रममा विभिन्न स्थानीय निकायका प्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार, महिला समूह र भूमिहीन समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय भूमि मंचका संयोजकले यो कार्यक्रमले समुदायमा चेतना फैलाउने मात्र नभई नीति निर्माण तहमा दबाब सिर्जना गर्ने प्रयास गरेको जानकारी दिए। आगामी दिनमा यस्ता छलफल र अभियानलाई निरन्तरता दिने प्रतिवद्धता आयोजक संस्थाले जनाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM