अभिलाष गुप्ता
वीरगंज, जेष्ठ १७
वीरगंज महानगरपालिका–१६ स्थित काव्या एकेडेमीमा अभिभावक–शिक्षक संघ (PTA) को बैठक शनिबार भव्यरूपमा सम्पन्न भएको छ। बिधालयका प्रधानाध्यापक ममता सिन्हाको अध्यक्षतामा आयोजना गरिएको उक्त बैठकमा विद्यालयका संचालक हरिन्द्र कुश्वाहाको विशेष उपस्थितिमा विद्यार्थीहरूको शैक्षिक गुणस्तर, अनुशासन, र समग्र विकासका विषयमा गम्भीर छलफल गरिएको थियो।

कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक प्रतिनिधि र अभिभावकहरूबीच खुला संवाद र सुझाव आदान–प्रदान गरिएको थियो। सहभागी अभिभावकहरूले बालबालिकाको शैक्षिक वातावरण, पठनपाठनको गुणस्तर, अतिरिक्त क्रियाकलापहरूको समावेशीकरण, र व्यवहारिक शिक्षाप्रति आफ्ना बहुमूल्य सुझावहरू राखेका थिए।
बैठकमा बोल्दै संचालक कुश्वाहाले विद्यालयको समग्र प्रगतिको लागि अभिभावकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, “विद्यार्थीहरूको उज्यालो भविष्य सुनिश्चित गर्न हामी सबैको समन्वय र सहकार्य अपरिहार्य छ। विद्यालय मात्र होइन, घरको वातावरण र अभिभावकको भूमिकाले पनि बालबालिकाको व्यक्तित्व निर्माणमा ठूलो प्रभाव पार्दछ।”

विद्यालय प्रशासनले अभिभावकहरूलाई धन्यवाद दिँदै अगामी दिनहरूमा अभिभावक–शिक्षक संवादलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनायो। साथै, विद्यालयले विद्यार्थीहरूको समग्र विकासका लागि आवश्यक नीति र कार्यक्रमहरू अभिभावकको सुझावअनुसार समावेश गर्ने बताएको छ।
कार्यक्रमले अभिभावक–विद्यालय सम्बन्धलाई थप मजबुत बनाएको विश्वास सहभागीहरूले व्यक्त गरेका छन्। अभिभावकहरूद्वारा दिइएका रचनात्मक सुझावहरू विद्यालय प्रशासनले गम्भीरतापूर्वक लिने र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

यस किसिमको नियमित बैठक र संवादले शैक्षिक प्रणालीलाई अझ पारदर्शी, उत्तरदायी र विद्यार्थी–केन्द्रित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।








