अभिलाष गुप्ता
वीरगञ्ज १७ जेष्ठ
मित्र राष्ट्र भारतको पवित्र धार्मिक स्थल श्री केदारनाथ धाम तथा श्री बद्रीनाथ धामको सफल तीर्थयात्रा सम्पन्न गरेका पाँचजना संचारकर्मीहरूको समूह आज सकुशल गृहनगर वीरगञ्ज फर्किएपछि शंकराचार्य गेटमा राष्ट्रिय समता पार्टी नेपालद्वारा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ।
कार्यक्रममा पार्टीका महासचिव अभिषेक तिवारी, वीरगञ्ज नगर अध्यक्ष अमर सराफ लगायत पार्टीका अन्य पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। तीर्थयात्रीहरुलाई टिका र खादा लगाई आत्मीय स्वागत गरिएको थियो।
उक्त धार्मिक यात्रामा अनलाइन न्यूज दैनिक का सञ्चालक अजय साह, प्रह्लाद चौरसिया लगायत अन्य श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जानकारी दिएका छन्।
स्वागत कार्यक्रममा बोल्दै पार्टीका प्रतिनिधिहरूले तीर्थयात्रा सफलतापूर्वक सम्पन्न गरी फर्किएकोमा हर्ष व्यक्त गर्दै संचारकर्मीहरूको समर्पणले विदेशमा समेत नेपालको नाम उच्च बनाएको उल्लेख गरेका थिए। साथै, कार्यक्रमले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता तथा सांस्कृतिक आदान–प्रदानमा सकारात्मक सन्देश दिएको बताएका छन्।
कार्यक्रममा स्थानीय सर्वसाधारण, धर्मगुरु, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यात्रु टोलीप्रति शुभकामना दिँदै सहभागिहरूले यस्ता धार्मिक तथा सांस्कृतिक यात्राहरूले समाजमा सकारात्मक ऊर्जा र समृद्धिको मार्ग प्रसस्त गर्ने विश्वास व्यक्त गरेका थिए।









