अभिलाष गुप्ता
वीरगञ्ज, १८ जेठ
वीरगञ्ज महानगरपालिका–१५ मा अवस्थित नवदिप एकेडमी माध्यमिक विद्यालयमा कक्षा सजावट प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूले आ–आफ्ना कक्षा कोठाहरूलाई सिर्जनात्मक रूपमा सजाएर प्रतियोगितामा सहभागिता जनाएका थिए।

प्रतियोगितामा कक्षा ४ को ‘बी’ सेक्सनले उत्कृष्ट सजावट प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेको छ। कक्षा १ ‘ए’ सेक्सनले दोस्रो स्थान प्राप्त गर्दा, कक्षा ५ तेस्रो र एलकेजी (LKG) कक्षा चौथो स्थानमा रहे।
विद्यालयकी प्रधानाध्यापक सुशीला साहको अध्यक्षता तथा प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको उद्घाटन आइतबार गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि चौधरीले विद्यार्थीद्वारा तयार पारिएका कक्षा कोठाहरूको सजावट अवलोकन गर्दै विद्यार्थीतर्फबाट देखाइएको सिर्जनात्मकता र कलात्मक क्षमताको प्रशंसा गरे। उनले भने, “शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरू अब्बल देखिनु हर्षको विषय हो। सजावटमा देखिएको उनीहरूको कला प्रशंसायोग्य छ।”

निर्णायक मण्डलका अनुसार सबै कक्षाहरूको सजावट उत्कृष्ट भएकाले अंक दिनु चुनौतिपूर्ण भएको बताए। निर्णायक मण्डलमा प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा समाजसेवी प्रकाश उपाध्याय, प्याब्सन मधेस प्रदेशका सल्लाहकार इमामुद्दीन अहमद तथा अभिभावक प्रतिनिधिका रूपमा राजकुमार तामाङ सहभागी थिए।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थीप्रति विद्यालयकी सञ्चालिका सुशील साहले आभार व्यक्त गरिन्।








