२०८२ चैत्र १८ गते बुधबार

कलैया बालमन्दिर अगाडि टिपरले किच्दा एक बालक गम्भीर घाइते

 

अभिलाष गुप्ता
कलैया, बारा

कलैया उपमहानगरपालिका–१ स्थित जिल्ला प्रहरी कार्यालय नजिकैको बालमन्दिर अगाडि टिपरले किच्दा एक बालक गम्भीर घाइते भएका छन्। आइतबार बिहान सवारी साधनको चाप बढिरहेको समयमा अचानक सडक पार गर्न दौडिएर आएका बालकलाई तीव्र गतिमा आएको टिपरले ठक्कर दिएको हो।

प्रत्यक्षदर्शीहरूका अनुसार बालक दौडँदै आइरहेका थिए, तर टिपर एक्कासि आइपुग्दा उनी त्यसैको चपेटामा परे। ठक्करपछि बालकको अवस्था अत्यन्तै दर्दनाक रहेको जनाइएको छ। घटनास्थलमै रहेका व्यक्तिहरूका अनुसार बालकको अनुहार र शरीरमा गम्भीर चोट लागेको थियो, जसको दृश्य देखेर उपस्थित मानिसहरू स्तब्ध बनेका थिए।

घाइते बालकलाई तत्काल उपचारका लागि नजिकैको अस्पताल पुर्‍याइएको छ। चिकित्सकका अनुसार उनको अवस्था चिन्ताजनक रहेको छ।

प्रहरीका अनुसार घाइते बालक भारतको नागरिक हुन् र हाल कलैया–१ स्थित मोतिबाग क्षेत्रको एक डेरामा बस्दै आएका थिए। टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM