अभिलाष गुप्ता
जेष्ठ २०, वीरगन्ज
स्थानीय युवाहरूलाई आत्मनिर्भर बनाउँदै रोजगारीमुखी सीप विकासतर्फको यात्रालाई अगाडि बढाउने उद्देश्यले वीरगन्जमा छोटो अवधिको “वेटर/वेट्रेस” तालिम सुरु गरिएको छ। मधेश प्रदेश सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयको पहलमा तथा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, राजपुर रौतहटको आर्थिक सहयोगमा यो तालिम सञ्चालनमा ल्याइएको हो।
तालिमको औपचारिक उद्घाटन आज वीरगन्जस्थित मधुशाला रेस्टुरेन्टमा एक विशेष कार्यक्रमबीच गरिएको हो। उद्घाटन कार्यक्रममा तालिम प्रशिक्षक केशव महत र सहायक प्रशिक्षक राजन श्रीवास्तवको विशेष उपस्थिति रहेको थियो। क्रीएटिभ स्किल्स प्रा.लि.को प्राविधिक साझेदारीमा सञ्चालन हुने तालिममा राधा हमाल सहजीकरणको भूमिकामा रहेकी छन्।

३२ दिनसम्म चल्ने उक्त तालिममा २० जना सहभागीले व्यावसायिक होटल तथा रेस्टुरेन्ट सेवा सम्बन्धी व्यवहारिक सीप हासिल गर्ने अवसर प्राप्त गर्नेछन्। तालिममा सहभागीहरूलाई ग्राहक सेवा, भोजन सेवा शिष्टाचार, सरसफाइ व्यवस्थापन, कार्यस्थलमा समन्वय तथा व्यावसायिक प्रस्तुतीकरण सम्बन्धी ज्ञान दिइने आयोजक संस्थाले जानकारी दिएको छ।
स्थानीय युवालाई लक्षित
तालिमले विशेषतः स्थानीय युवा पुस्तालाई लक्षित गर्दै उनीहरूलाई रोजगारका अवसरतर्फ उन्मुख गराउने उद्देश्य राखेको छ। आयोजक संस्थाका प्रतिनिधिका अनुसार, तालिमले युवा वर्गलाई रोजगार तथा स्वरोजगारमा प्रवाह गराउँदै आत्मनिर्भरता हासिल गर्न उत्प्रेरित गर्नेछ।
तालिम अवधिभर सहभागीहरूलाई व्यवहारिक अभ्यासमा विशेष जोड दिइनेछ। यसले उनीहरूको सेवा क्षेत्रमा आवश्यक सीपमा दक्षता बढाउनेछ, जसले भविष्यमा उनीहरूलाई होटल तथा रेस्टुरेन्ट क्षेत्रमा रोजगारी पाउन सजिलो बनाउने विश्वास आयोजकको छ।

साथै, तालिममार्फत युवाहरूले सेवा क्षेत्रमा कार्यरत व्यवसायिकहरूसँग सञ्जाल निर्माणको अवसर पनि पाउनेछन्। यसले उनीहरूलाई आगामी दिनमा रोजगारी खोज्न वा आफ्नै व्यवसाय सुरु गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
यस प्रकारको सीपमूलक तालिमले मधेश प्रदेशका युवामा आशाको किरण देखाएको छ। सरकारी निकाय र निजी क्षेत्रको सहकार्यमा सञ्चालन भएको यो कार्यक्रम अन्य स्थानका लागि पनि प्रेरणादायी बन्ने विश्वास लिइएको छ।








