२०८२ चैत्र १८ गते बुधबार

भारतमा प्याजको भाउ उकालो लागेपछि नेपालमा पनि मूल्य वृद्धि

 

काठमाडौं, जेठ २१ — भारतमा भारी वर्षाका कारण प्याजको उत्पादनमा कमी आएपछि त्यसको मूल्य करिब २० प्रतिशतले वृद्धि भएको छ। भारतीय सञ्चारमाध्यम ‘द इकोनोमिक टाइम्स’ का अनुसार उत्पादन र भण्डारण बढेपनि बजारमा प्याज महँगो भएको हो। भारतीय सरकारको खरिद नीति तथा मौसमी असरले मूल्य अझै बढ्ने सम्भावना देखिएको छ।

यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिन थालेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूची अनुसार वैशाख २१ देखि जेठ ७ सम्म प्याजको प्रतिकिलो थोक मूल्य ३७ रुपैयाँमा स्थिर रहेको थियो। तर, पछिल्लो दिनहरूमा मूल्यमा क्रमिक वृद्धि देखिएको छ। जेठ १९ र २० गते उक्त मूल्य ३९ रुपैयाँ प्रतिकिलो पुगेको छ।

समितिका अनुसार जेठ १८ मा कालीमाटीमा २३० मेट्रिक टन भारतीय प्याज भित्रिएको थियो भने जेठ १९ मा मात्र १३९ मेट्रिक टन प्याज आयात भएको देखिन्छ।

आलु–प्याज व्यवसायी सङ्घका महासचिव प्रकाश गजुरेलका अनुसार भारतीय बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि सोही अनुपातमा असर पर्ने गर्दछ। “हाम्रो देशको आन्तरिक उत्पादनले माग धान्न नसक्ने भएकाले भारतबाट आयातमा निर्भर रहनुपर्छ। स्रोत बजारमै मूल्य बढ्दा स्वाभाविक रूपमा यहाँ पनि महँगो पर्छ,” गजुरेलले बताए।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा वार्षिक करिब २० हजार हेक्टर क्षेत्रफलमा प्याज खेती हुने र करिब २.५ लाख मेट्रिक टन उत्पादन हुने गरेको छ। तर, आन्तरिक उत्पादनले माग धान्न नसक्ने भएकाले ठूलो परिमाणमा प्याज भारतबाट आयात गर्नुपर्ने अवस्था छ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षका पछिल्लो १० महिनामा नेपालले करिब ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको ८५ हजार ७८८ मेट्रिक टन प्याज आयात गरेको छ। जसमध्ये ३ अर्ब ६६ करोड रुपैयाँको प्याज भारतबाट आयात भएको छ।

विश्लेषकहरूका अनुसार यदि भारतमा मूल्य वृद्धिको क्रम यथावत् रह्यो भने नेपाली बजारमा अझ महँगी बढ्ने सम्भावना उच्च छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM