२०८२ चैत्र १७ गते मंगलवार

चाओ सति देवी मन्दिरमा भव्य पूजा, नयाँ मन्दिरको उद्घाटन

 

अभिलाष गुप्ता
जेष्ठ २२ बिरगंज

बिरगंज, आदर्शनगर — बिरगंज महानगरपालिका–११, आदर्शनगरस्थित ऐतिहासिक चाओ सति देवी मन्दिरमा आज एक भव्य धार्मिक समारोहका बीच नयाँ मन्दिरको उद्घाटन गरिएको छ। मारवाडी धर्मावलम्बीहरूको प्रमुख आस्था केन्द्र मानिने उक्त मन्दिरलाई आधुनिक सुविधासहित पुनर्निर्माण गरिएको हो।

मन्दिर पुनर्निर्माणको उपलक्ष्यमा चाओ सति देवी मन्दिर ट्रस्टको आयोजनामा बिहानैदेखि भजन–कीर्तन, पूजा–अर्चना र सोभायात्रा सहित विविध कार्यक्रम सम्पन्न भए। सोभायात्रामा ठूलो संख्यामा मारवाडी समुदायका धर्मावलम्बीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। श्रद्धालुहरूको सहभागिता र आस्थाले वातावरण पूर्णतया भक्तिमय बनेको थियो।

पुरानो मन्दिरको पुनर्निर्माण गरी नयाँ सुरुवात

प्राप्त जानकारी अनुसार, करिब ६० वर्ष पुरानो मन्दिरलाई भत्काएर पुनर्निर्माण गरिएको हो। चाओ सति देवी मन्दिर ट्रस्टका अध्यक्ष एवं वरिष्ठ समाजसेवी मुर्लीधर रुङटाका अनुसार, “यो मन्दिर मेरो बुवाले निर्माण गर्नु भएको हो, र अब हामीले नयाँ पुस्ताको सुविधालाई ध्यानमा राखी मन्दिरलाई पुनःनिर्माण गरेका हौं।”

नयाँ मन्दिर स्थापनासँगै अब यहाँ आधुनिक सुविधासहितको धर्मशाला निर्माण कार्य पनि थालिएको छ। पहिले १ कठा क्षेत्रफलमा सीमित रहेको मन्दीर लाई अहिले थप १ कठा जग्गा विस्तार गरि २ कठामा फैलाइएको र धर्मशालाको पनि निर्माण गरिएको हो। सो धर्मशाला ४ तले हुनेछ र १० करोड रुपैयाँ लागतमा निर्माण हुने ट्रस्टले जानकारी दिएको छ। धर्मशालामा यात्रु र श्रद्धालुहरूका लागि सम्पूर्ण सुविधाहरू उपलब्ध हुनेछन्।

समारोहपछिको प्रसाद वितरण

भजन–कीर्तनपछि आयोजित सामूहिक प्रसाद वितरण कार्यक्रममा सम्पूर्ण धर्मावलम्बीहरूलाई प्रसाद खुवाइएको थियो। कार्यक्रममा चाओ सति देवी मन्दिर ट्रस्टका पदाधिकारीहरू मुर्लीधर रुङटा, सुरेश रुङटा, नारायण रुङटा लगायतका एवं श्रद्धालुहरूको सक्रिय उपस्थिति रहेको थियो।

मन्दिरको यो विकासले बिरगंजको धार्मिक, सांस्कृतिक तथा सामाजिक वातावरणलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ। यसले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM