अभिलाष गुप्ता
बिरगंज, २३ जेष्ठ
बिरगंज महानगरपालिका वडा नम्बर ४ भगवतीटोलस्थित बिकन माध्यमिक विद्यालयमा आज विशेष दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ। एभरेष्ट दन्त सेवा केन्द्र प्रा.लि. का दन्त विशेषज्ञ डा. मनोज कुमार उपाध्याय र डा. प्रियंशा पौडेलको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रमबाट विद्यालयका कक्षा ५ देखि कक्षा १० सम्म अध्ययनरत २१० जना विद्यार्थीहरूले दन्त परीक्षण सेवा प्राप्त गरेका छन्।

कार्यक्रमको सुरुवात विद्यालयका प्राचार्य जय कुमार दनुवार र शिक्षिका तथा कार्यक्रम संयोजक पमी वानुको स्वागत मन्तव्यबाट गरिएको थियो। उनीहरूले विद्यार्थीहरूमा स्वास्थ्यप्रति चेतना अभिवृद्धि गराउने उद्देश्यले यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए।
कार्यक्रममा एभरेष्ट दन्त सेवा केन्द्रका संस्थापक प्रकाश कुमार उपाध्यायले धन्यवाद ज्ञापन गर्दै बालबालिकाको सम्पूर्ण स्वास्थ्यमा दन्त स्वास्थ्यले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले यस प्रकारका जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे।

कार्यक्रममा संस्थापक प्रकाश कुमार उपाध्याय, दन्त चिकित्सक डा. मनोज कुमार उपाध्याय र डा. प्रियंशा पौडेल, विद्यालयका प्राचार्य जय कुमार दनुवार, शिक्षिका पमी वानु, शिक्षक सुवास सिंह लगायत अन्य शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यार्थीहरूलाई दाँतको सरसफाइ, नियमित जाँचको महत्त्व, क्याभिटी तथा अन्य समस्या समाधानका उपायबारे जानकारी दिइएको थियो। साथै, चिकित्सकद्वारा आवश्यक सल्लाह र प्राथमिक उपचारसमेत प्रदान गरिएको थियो।

कार्यक्रमको समापनमा विद्यालय प्रशासनले एभरेष्ट दन्त सेवा केन्द्रलाई सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमको अपेक्षा व्यक्त गर्यो।








