२०८२ चैत्र १७ गते मंगलवार

वीरगञ्जमा शङ्खधर साख्वा पार्कको भव्य उद्घाटन समारोह सम्पन्न, आइतबारदेखि सर्वसाधारणका लागि खुला

 

 

अभिलाष गुप्ता
वीरगञ्ज,२४ जेष्ठ

नेपाल संवतका प्रवर्तक तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा निर्माण गरिएको शङ्खधर साख्वा पार्कको शनिबार साँझ भव्य समारोहबीच औपचारिक उद्घाटन गरिएको छ। वीरगञ्जस्थित हरि खेतान क्याम्पसको अगाडि अवस्थित यस नवनिर्मित पार्कको उद्घाटन खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादव, वीरगञ्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंह तथा वीरगञ्जका विशिष्ट व्यक्तित्वहरुको संयुक्त उपस्थितिमा बेलुन उडाएर गरिएको हो।

शङ्खधर साख्वाको योगदानको सम्मानस्वरूप निर्मित यस पार्कको उद्घाटन समारोह साँझ ७:३० बजे सुरु भई, भव्य र आकर्षक रुपमा सम्पन्न भएको थियो। उद्घाटन कार्यक्रममा स्थानीय व्यापारी, शिक्षा क्षेत्रका प्रतिनिधिहरू, संचारकर्मी, प्रतिष्ठित नागरिक, शङ्खधर साख्वा स्मृति प्रतिष्ठानका सम्पूर्ण सदस्यहरू, साथै वीरगञ्ज महानगरपालिकाका नगर प्रहरीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिहरूले राष्ट्रिय विभूति शङ्खधर साख्वाको ऐतिहासिक योगदानको चर्चा गर्दै, वीरगञ्जमा यस्ता सार्वजनिक स्थलहरुको निर्माणले सामाजिक, सांस्कृतिक र शहरी सौन्दर्यमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए। नगर प्रमुख राजेशमान सिंहले भविष्यमा यस्ता थप स्थानहरु विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

पार्कमा हरियाली, विश्राम स्थल, बालबालिकाका लागि खेल क्षेत्र, रातिको समयमा उज्यालो व्यवस्था लगायतका सुविधा उपलब्ध छन्। शहरी जनजीवनमा खुल्ला स्थानको अभाव भइरहेका बेला यो पार्क स्थानीयवासीका लागि एउटा महत्वपूर्ण योगदान सावित हुने अपेक्षा गरिएको छ।

शङ्खधर साख्वा पार्क आइतबार (भोलिदेखि) सर्वसाधारणको लागि खुला गरिने जानकारी दिइएको छ। स्थानीयवासी तथा पर्यटकका लागि नयाँ गन्तव्यको रुपमा यसले परिचय पाउने विश्वास लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM