अभिलाष गुप्ता
बिरगंज२४ जेष्ठ
उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला कार्य समिति पर्साको बैठक आज बिरगंजस्थित होटल कन्ट्री इनमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकले हाल बजारमा छ्यापछ्याप्ती रुपमा बिक्री हुँदै आएको विषादीयुक्त आँपको नियन्त्रण तथा रोकथाम गर्न तत्काल कदम चाल्ने निर्णय गरेको छ।
बैठकले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी (सिडियो) सँग भेट गरी बजारमा रहेका विषादीयुक्त आँप तथा अन्य फलफूलहरूको बिक्री भइरहेको गल्ला मण्डीमा अनुगमन गरी दोषीहरूलाई कानुनी कारबाही गर्न दबाब दिने निर्णय गरेको हो।
त्यस्तै, बिरगंज महानगरपालिका क्षेत्रभित्र बिक्री वितरण भइरहेका मासु, माछा, तरकारी तथा फलफूलको मूल्यमा एकरुपता कायम गराउन महानगरपालिकाका मेयरसँग भेट गरी पहल गर्ने निर्णय समेत बैठकले गरेको छ।
बैठकमा मञ्चका केन्द्रीय सदस्य धीरज शर्मा, जिल्ला उपाध्यक्ष अजित भुजेल, सचिव विशाल झा, कोषाध्यक्ष रचेन्द्र थापा, सदस्यहरू प्रकाश शाह, लक्ष्मी खड्का, मनोज गुप्ता, सुनिल महतो, गजेन्द्र महतो लगायतको उपस्थिति रहेको थियो।
उपभोक्ताको स्वास्थ्य र हितलाई प्राथमिकतामा राख्दै बजारमा भइरहेको अनियमितता विरुद्ध सशक्त अनुगमन र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने मञ्चको प्रतिबद्धता रहेको बताइएको छ।









