अभिलाष गुप्ता
जेठ २५ वीरगञ्ज
सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि पर्साका सुनचाँदी व्यवसायीहरू आक्रोशित भएका छन्। उनीहरूले नयाँ कर संरचनाले उपभोक्ता र व्यवसाय दुवैलाई गहिरो असर पार्ने भन्दै कडा आपत्ति जनाएका छन्।
पर्सा सुनचाँदी व्यवसायी संघ र पर्सा सुनचाँदी कालीगढ संघले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा १० लाख रुपैयाँभन्दा माथिका गरगहनामात्रै लाग्ने विलासिता करलाई हटाएर सबै मूल्यका गहनामा २ प्रतिशत भ्याट लगाइनु तथा हिरा र बहुमूल्य पत्थर जडित गहनामा १३ प्रतिशत भ्याट लगाइनु उपभोक्तामाथि अन्यायपूर्ण आर्थिक भार हो भन्ने बताएका छन्।
व्यवसायीहरूको भनाइमा, सुनचाँदीका गरगहना नेपालमा विलासिता नभई परम्परा, संस्कृति, रीतिरिवाज तथा सामाजिक जीवनको अभिन्न हिस्सा हुन्। त्यस्ता वस्तुहरूमा कर वृद्धि गर्नुले आम नागरिकको बचत र लगानीमाथि प्रत्यक्ष असर पार्ने उनीहरूको दाबी छ।
संघले छिमेकी देश भारतको तुलनामा मूल्य वृद्धि अत्यधिक भएकाले यसले चोरीपैठारी र अवैध कारोबार बढ्ने खतरा पनि औंल्याएको छ। अहिले नै सुनको मूल्य आकाशिएको र बजार मन्दीमा रहेको अवस्थामा थप करले बजारमा झन् गिरावट ल्याउने स्पष्ट चेतावनी संघले दिएको छ।
“करको यस्तो बोझले लाखौं व्यवसायी, कालीगढ र मजदुरको जीविकोपार्जन संकटमा पर्नेछ,” संघले भनेको छ, “सरकारले यो निर्णय तत्काल पुनरावलोकन गर्नुपर्छ।”
सरकारको नयाँ कर नीतिले सुनचाँदी उद्योग र बजारमा पार्ने दीर्घकालीन प्रभावबारे बहस चर्किंदै गएको छ।









