अभिलाष गुप्ता
वीरगञ्ज २६ जेष्ठ
स्थानीय समुदायलाई विपद् व्यवस्थापनमा थप सक्षम बनाउने उद्देश्यसहित वीरगञ्जमा २१ दिने समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजना र वीरगञ्ज महानगरपालिकाको संयोजनमा सञ्चालन गरिएको उक्त तालिमको उद्घाटन वीरगञ्ज महानगरपालिका कार्यालयको सभाहलमा गरिएको हो। तालिममा ३० जना सहभागी रहेका छन्।
तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह थिए। उनले स्थानीय तहमा विपद् व्यवस्थापनका लागि समुदायमै आधारित संयन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताउँदै यस्ता तालिमहरू अपरिहार्य रहेको उल्लेख गरे। “समुदायका सदस्यहरू स्वयं सक्रिय भई विपद् न्यूनीकरण र प्रतिकार्यमा लाग्नुपर्छ,” उनले जोड दिए।
विशिष्ट अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अध्यक्ष बृजकिशोर पटेलको उपस्थिति रहेको थियो।
तालिम शुभारम्भ कार्यक्रमको अध्यक्षता सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले गर्नुभएको थियो।
सशस्त्र प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता देवेन्द्र बहादुर सिंहले तालिमका विषयवस्तुबारे जानकारी दिँदै यस किसिमका कार्यक्रमहरूले विपद् जोखिम न्यूनीकरण तथा स्थानीय स्तरमा द्रुत प्रतिक्रिया संयन्त्र विकास गर्न ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनका अनुसार तालिमको अवधिमा सहभागीहरूलाई विपद् पूर्वतयारी, तत्कालीन उद्धार, जनचेतना अभिवृद्धि, प्राथमिक उपचार तथा सामुदायिक समन्वय जस्ता महत्वपूर्ण विषयहरूमा व्यावहारिक ज्ञान प्रदान गरिनेछ।









