अभिलाष गुप्ता
हेटौंडा,जेष्ठ २६
मकवानपुर जिल्लामा केही दिनअघि चोरीमा परेको ट्रक प्रहरीले फेला पारी सवारीधनीलाई बुझाएको छ। जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका–४ निवासी गणेश बरुवालको नाममा दर्ता भएको ना ६ ख ८५५ नम्बरको ट्रक मिति जेष्ठ १३ गते चोरी भएको थियो।
बरुवालले ट्रक पार्किङ गरी राखेको स्थानबाट हराएको भनी प्रहरी कार्यालयमा जाहेरी दिएपछि सो सम्बन्धमा अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानको क्रममा सोही दिन राति हेटौंडा उपमहानगरपालिका–३ बसामाडी क्षेत्रमा उक्त ट्रक फेला परेको प्रहरी स्रोतले जनाएको छ।
आज २६ गते ट्रक सवारीधनीलाई बोलाई साधन सनाखत गराई एकिन भई ट्रक बुझाइएको हो।
यसै क्रममा प्रहरीले ट्रक चोरीको घटनामा संलग्न रहेको आशंकामा मकवानपुरगढी गाउँपालिका–१ निवासी २७ वर्षीय तिर्थमान भोलनलाई पक्राउ गरेको छ। उनीमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिक सम्पत्तिको सुरक्षा र अपराध नियन्त्रणमा आफ्नो सक्रियता जारी रहेको बताएको छ।









