२०८२ फाल्गुन १९ गते मंगलवार

लायंस नेतृत्वमा नेपाली प्रतिनिधित्वको ऐतिहासिक उपलब्धि

 

अभिलाष गुप्ता
बिरगंज २६ जेष्ठ

संजय खेतानले अन्तर्राष्ट्रिय झण्डा गाड्दै नेपाललाई चिनाए

विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्था लायंस क्लब इन्टरनेशनलमा नेपालको उपस्थिति दिन प्रतिदिन सशक्त हुँदै गएको छ। हालै सम्पन्न लायंस राष्ट्रिय अधिवेशन–२०२५ ले नेपालको अन्तर्राष्ट्रिय नेतृत्व क्षितिजमा ऐतिहासिक पाटो कोर्दै नयाँ समृद्धि र पहिचानको बाटो देखाएको छ।

लायंस क्लब इन्टरनेशनलको अन्तर्राष्ट्रिय कार्यकारिणी समितिमा नियुक्त हुने पहिलो नेपाली सदस्यको रुपमा इन्टरनेशनल डाइरेक्टर लायन संजय खेतानले नेपाल देशको राष्ट्रिय झण्डा र राष्ट्रिय भाषा नेपालीलाई संयुक्त राज्य अमेरिकास्थित लायंस अन्तर्राष्ट्रिय केन्द्रीय कार्यालयमा स्थायी पहिचानको रूपमा स्थापना गर्न सफल भएका छन्। यो कार्यले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव अभिवृद्धि मात्र गरेन, सामाजिक सेवा र नेतृत्वदायी भूमिकामा नेपालको सशक्त पहिचान पनि स्थापित गराएको छ।

संजय खेतानको यो यात्रामा उहाँकी जीवनसाथी लायन संगीता खेतानले निरन्तर साथ दिँदै काधमा काध मिलाएर हौसला र प्रेरणाको स्रोत बनेकी छन्। संजय खेतानका पिता वरिष्ठ चिकित्सक एवं पूर्व डिस्ट्रिक्ट गर्भनर लायन डा. आर. पी. खेतानले लायनवादमा पाँच दशकभन्दा बढी योगदान दिएका छन्। उहाँको निरन्तर मार्गदर्शन र आशीर्वाद नै संजय खेतानको सफलताको मुलमन्त्र रहँदै आएको छ।

अन्तर्राष्ट्रिय नेतृत्वको निरन्तरता : राजन लम्साल निर्वाचित

हालका इन्टरनेशनल डाइरेक्टर लायन बालकृष्ण बुरलाकोटीको कार्यकाल २०२५ जुन ३० मा सकिँदैछ। उहाँको नेतृत्वमा लायंस क्लब नेपालमा उल्लेखनीय सदस्य वृद्धि भएको छ र हाल करिब ४४,००० भन्दा बढी सदस्य रहेका छन्।

उक्त नेतृत्वको निरन्तरतास्वरूप, आगामी २०२६–२०२८ कार्यकालको इन्टरनेशनल डाइरेक्टर पदका लागि हालै काठमाडौंमा सम्पन्न राष्ट्रिय अधिवेशनबाट लायन राजन लम्साललाई विशाल बहुमतका साथ उम्मेदवारका रूपमा निर्वाचित गरिएको छ।

राजन लम्साल पूर्व डिस्ट्रिक्ट गर्भनर, पूर्व एमसीसी हुन् र उहाँले आफ्नी जीवनसाथी पूर्व डिस्ट्रिक्ट गर्भनर लायन इन्दु लम्सालसँगै लामो समयदेखि लायनवादमा योगदान दिँदै आउनुभएको छ। उहाँको औपचारिक निर्वाचन २०२६ मा अन्तर्राष्ट्रिय सम्मेलनपछि हुनेछ र त्यसपश्चात एक जुलाई २०२६ देखि दुई वर्षको कार्यकालका लागि कार्यभार सम्हाल्नेछन्।

महिला नेतृत्वमा ऐतिहासिक प्रगति : पहिलो पटक MCC मा महिला निर्वाचित

लायनवादको इतिहासमा पहिलो पटक मल्टिपल काउन्सिल चेयरपर्सन (MCC) पदमा महिला निर्वाचित भएकी छिन्। मकवानपुर–पोखरा निवासी लायन मिलन थापा, जो लायन समुदायमा पूर्व डिस्ट्रिक्ट गर्भनर ध्रुव थापाकी धर्मपत्नी समेत हुन्, उक्त पदमा निर्वाचित भएकी हुन्।

उहाँको कार्यकाल १ जुलाई २०२५ देखि ३० जुन २०२६ सम्म रहनेछ। यस अवसरमा लायन समुदायबाट उहाँलाई भव्य बधाई र सफलताको शुभकामना दिइएको छ।

रमेश लामाको नेतृत्वमा सफल अधिवेशन सम्पन्न

 

यस लायंस राष्ट्रिय अधिवेशन २०२५ लाई मल्टिपल काउन्सिल चेयरम्यान लायन रमेश लामाको सभापतित्वमा आयोजना गरिएको थियो। कार्यक्रमले नेपाल लायन्सको आगामी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय नेतृत्व तय गर्दै नयाँ युगको सुरुवात गरेको छ। सहभागीहरूको उत्साह, व्यवस्थापनको सुशासन र एकताले अधिवेशनलाई ऐतिहासिक बनाएको सहभागीहरूले बताएका छन्।

लायनवादमा नेपालका लागि यस अधिवेशनले केवल नेतृत्व चयनको प्रक्रिया पूरा गरेको छैन, यसले नेपाललाई विश्व लायंस मानचित्रमा अझ मजबुत बनाउने मार्ग पनि खोलिदिएको छ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM