२०८२ चैत्र १७ गते मंगलवार

घडिअर्वापोखरीमा विपद् व्यवस्थापन अभ्यास कार्यक्रम सम्पन्न

 

मनसुन पूर्वतयारीका क्रममा प्राकृतिक विपद् न्यूनीकरण र व्यवस्थापनलाई लक्षित गर्दै “विपद् प्रतिकार्य अभ्यास” कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त आयोजनामा सम्पन्न उक्त अभ्यास जिल्ला विपद् व्यवस्थापन समिति, पर्साको समन्वयमा सञ्चालन गरिएको हो।

कार्यक्रममा स्थानीय स्वयंसेवकहरूलाई विपद् अवस्थाको तत्कालीन प्रतिक्रिया, उद्धार कार्य, समन्वय तथा राहत व्यवस्थापन विषयमा व्यावहारिक अभ्यास र तालिम प्रदान गरिएको थियो।

कार्यक्रममा मुख्य अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहेका थिए। विशिष्ट अतिथिका रूपमा नेपाली सेना श्री श्रीजंग गणका प्रमुख सेनानी निराजन कटुवाल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जिल्ला प्रहरी प्रमुख गौतम मिश्र, नेपाल रेडक्रस पर्सा अध्यक्ष बृजकिशोर पटेल, नायब उपरीक्षक देवेन्द्र बहादुर सिंह तथा एनोभेट सोसाइटी अध्यक्ष कमल चौगाई लगायतको उपस्थिति थियो।उक्त तालिम कार्यक्रम बिरगंजस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता पर्सा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरू, नेपाल स्काउटका प्रतिनिधिहरू तथा स्थानीय स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
तालिमको क्रममा विपद्‌को समयमा अपनाउनुपर्ने प्राथमिक उपाय, उद्धार कार्यको अभ्यास, आपतकालीन समन्वय र राहत व्यवस्थापनबारे व्यावहारिक अभ्यास गराइएको थियो।

“उक्त अभ्यासबाट स्थानीय स्वयंसेवकहरूलाई विपद् अवस्थाको तत्कालीन प्रतिक्रिया, उद्धार कार्य, समन्वय र राहत व्यवस्थापनमा दक्ष बनाउने लक्ष्य राखिएको हो।”

उक्त तालिमले स्थानीय तह, सुरक्षाकर्मी, स्वयंसेवी संस्था र समुदायबीचको सहकार्यलाई सुदृढ बनाउने र विपद्‌को बेला हुने जनधनको क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM