जिल्ला प्रशासन कार्यालय अन्तर्गत बीरगंज महानगरपालिकामा राष्ट्रिय परिचयपत्र बनाउन सेवा लिन आउने नागरिकहरू बिहानैदेखि लाइनमा बस्न बाध्य छन्। लामो लाइन, चर्को गर्मी, र व्यवस्थापनको कमीका कारण सेवाग्राहीहरू निकै समस्यामा परिरहेको छ।
सेवाग्राहीहरूले चिनिएका व्यक्तिहरू लाइन मिचेर सिधै भित्र पस्ने, अन्यको पालो हडप्ने जस्ता गुनासोहरू नगर प्रमुख राजेशमान सिंह समक्ष राखेपछि नगर प्रमुख स्वयम् कार्यालयमा अनुगमन गर्न पुगे। अनुगमनको क्रममा उनले सेवाग्राहीहरूसँग प्रत्यक्ष संवाद गर्दै समस्या सुने र तत्काल सुधारको निर्देशन दिए।
नगर प्रमुख सिंहले कार्यालयमा कार्यरत कर्मचारीहरूलाई सेवा सहज र पारदर्शी बनाउन निर्देशन दिँदै, सेवाग्राहीलाई दुःख नदिने वातावरण बनाउन आग्रह गरे। साथै, हालको चर्को गर्मीलाई मध्यनजर गर्दै सेवाग्राहीहरूका लागि ‘कुलर’को व्यवस्था गर्न पनि उनले सुझाव दिएका छन्।
सिंहले भने, “सेवा लिन आउने नागरिकहरूलाई सम्मानपूर्वक व्यवहार गरिनु पर्छ। उनीहरूलाई सहज र मर्यादित सेवा उपलब्ध गराउनु महानगरको कर्तव्य हो।”
नगर प्रमुखको यो सक्रियता सेवाग्राहीहरूबाट सकारात्मक रूपमा लिइएको छ। आगामी दिनहरूमा सेवा प्रवाहमा थप सुधार हुने अपेक्षा गरिएको छ।









