बारा जिल्लाको फत्तेपुरस्थित स्नो एपेक्स विद्यालयमा किरण आँखा अस्पतालद्वारा आयोजित निशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
बिहान ७ बजे सुरु भएको शिविर १० बजेसम्म सञ्चालन भएको थियो। शिविरमा विद्यालयमा अध्ययनरत करिब ३०० जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको किरण आँखा अस्पतालका सञ्चालक डा. अमर क्यालले जानकारी दिए। परीक्षणका क्रममा १८ जना विद्यार्थीको आँखामा सामान्य समस्या देखिएको र उनीहरूलाई थप उपचारका लागि अभिभावकको सहकार्यमा किरण आँखा अस्पतालमा लैजाने तयारी भइरहेको डा. क्यालले बताए।
शिविरमा आसपासका स्थानीय अभिभावकहरूको पनि आँखा परीक्षण गरिएको थियो। समुदायस्तरमै स्वास्थ्य पहुँच पु-याउने उद्देश्यसहित सञ्चालन गरिएको उक्त शिविरले विद्यार्थी र अभिभावकहरूलाई समयमै स्वास्थ्य सचेतना दिने अवसर जुटाएको आयोजक पक्षले जनाएको छ।
विद्यालय प्रशासनले यस्तो जनस्वास्थ्यमुखी कार्यका लागि किरण आँखा अस्पताललाई धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमको निरन्तरताको अपेक्षा गरेको छ।









