बाराको प्रसौनीस्थित नाकामा खटिएका प्रहरी घुमुवा अवधेश मुखिया बिनमाथि अवैध तस्करीमा संलग्न भएको गम्भीर आरोप लागेको छ। इलाका प्रहरी कार्यालय (ईप्रका) प्रसौनी मातहत बलिरामपुर, छतवा, जोतपुर लगायतका नाकाबाट हुने तस्करीमा बिनले मासिक रकम असुली गर्दै आएको स्रोतले जनाएको छ।
स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार, प्रहरीका घुमुवा बिनले शान्ति सुरक्षाको जिम्मेवारी बहन गर्नुको सट्टा तस्कर समूहहरूसँग सिधा मिलेमतो गरी मासिक नजराना असुल्दै आएका छन्। बिनले जनही ५ हजारदेखि ५० हजारसम्म रकम असुलेर तस्करीलाई संरक्षण दिने गरेको आरोप छ।
प्रहरी निरीक्षक श्रेष्ठमाथि पनि संलग्नताको आरोप
तस्करीमा संलग्न व्यापारीहरूमध्ये केहीले नाम नखुलाउने सर्तमा अनलाइनलाई जानकारी दिँदै, “यदि प्रहरी निरीक्षक टोपेन्द्र श्रेष्ठले मासिक नजराना बुझेका थिएनन् भने, तस्करीबारे पटक–पटक जानकारी दिँदा पनि उनी मौन बस्ने थिएनन्,” बताएका छन्। यसले श्रेष्ठको समेत संलग्नता पुष्टि गर्ने उनीहरूको तर्क छ।
प्रहरी संगठनमै मिलेमतो ?
स्रोतका अनुसार, अवधेश मुखिया बिनको स्थायी दरबन्दी सप्तरीमा भए पनि निरीक्षक श्रेष्ठको विश्वासपात्र भएकै कारण प्रसौनीमा बोलाई घुमुवाको जिम्मेवारी दिइएको हो। यसअघि जीतपुर, मटिअर्वा, बलिरामपुरजस्ता युनिटहरूमा काम गरिसकेका बिनले घुमुवाको हैसियतमा तस्करहरूसँग बार्गेनिङ्ग गर्दै असुली गर्ने पुरानो इतिहाससमेत बोकेको प्रहरी स्रोत बताउँछ।
सर्वसाधारण पीडित, तस्करलाई छुट
तस्करीको नाममा सर्वसाधारणले ल्याउने घरायसी सामान समेत जफत गरिए पनि, ठूला तस्करहरू भने महिनावारी बुझाएर निर्वाध रूपमा सामग्री भित्र्याइरहेका छन्। भारतबाट सेशनाथ इलेक्ट्रोनिक्स, उज्वल ग्रुप किराना, अमर ग्रुप, चन्दन कपडा, काजु व्यापारीहरू लगायत दर्जनौं तस्करहरू खुल्लामखुल्ला कारोबारमा संलग्न रहेको जनाइएको छ।
फोन सम्पर्क असफल, माथिल्लो निकाय मौन
सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा प्रहरी निरीक्षक श्रेष्ठसँग सम्पर्क हुन सकेन। सो क्षेत्रबाट तस्करी दिनप्रतिदिन बढ्दै गएको भए पनि प्रहरीको उच्च निकायले कुनै ध्यान नदिएकोप्रति सचेत नागरिकहरू आश्चर्य व्यक्त गरिरहेका छन्।
समभार :अनलाईन बिरगंज न्युज









