२०८२ चैत्र १ गते आईतवार

वीरगन्ज सहित विभिन्न ठाउँहरूमा भारतद्वारा ४० वटा एम्बुलेन्स हस्तान्तरण

 

भारत सरकारले शनिबार वीरगन्ज सहित नेपालका विभिन्न जिल्लाहरूमा रहेका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स प्रदान गरेको छ।

सवारी साधन हस्तान्तरण समारोह देशको ४ स्थानहरूमा एकैसाथ आयोजना गरिएको थियो‌ काठमाडौंस्थित भारतको राजदूतावास, वीरगन्जस्थित भारतको महावाणिज्यदूतावास, र पोखरा तथा धरानस्थित भारतको राजदूतावासका पेन्सन वितरण कार्यालयहरूमा एम्बुलेन्स वितरण गरिएको हो।

नेपालका सात वटै प्रदेशका ३३ जिल्लाहरूमा ४० वटा एम्बुलेन्स वितरण गरिएको हो। तीमध्ये २२ वटा एम्बुलेन्स काठमाडौंमा, ७ वटा वीरगन्जमा, ७ वटा पोखरामा र ४ वटा धरानमा भारत सरकारका प्रतिनिधिहरूद्वारा हस्तान्तरण गरिएको थियो।

काठमाडौंमा आयोजित समारोहमा भारतको राजदूतावासका उपप्रमुख श्री प्रसन्न श्रीवास्तवद्वारा एम्बुलेन्सका साँचाहरू हस्तान्तरण गरिएको थियो। समारोहमा बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नगरपालिकाका मेयर, गाउँपालिकाका अध्यक्षहरू, लाभग्राही संस्थाहरूका प्रतिनिधिहरू, राजनीतिक प्रतिनिधिहरू तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

भारत सरकारले विगत तीन दशकभन्दा बढी समयदेखि नेपालका विभिन्न भागहरूमा रहेका संस्थाहरूलाई एम्बुलेन्स प्रदान गर्दै आएको छ, जसअन्तर्गत स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ। सन् १९९४ यता आजका एम्बुलेन्सहरू समेत गरी नेपालभरमा १०४९ वटा एम्बुलेन्स भारतले प्रदान गरिसकेको छ।

यसबाहेक नेपाल सरकारलाई यस्ता सवारीसाधनसम्बन्धी सहयोगहरू समय-समयमा उपलब्ध गराउँदै आएको छ। अहिलेसम्म ३०० वटा स्कुल बस नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई प्रदान गरिएका छन्। सन् २०२२ मा २०० वटा सवारी साधन सुरक्षा निकायहरू तथा निर्वाचन आयोगलाई निर्वाचन सञ्चालनका लागि हस्तान्तरण गरिएको थियो।

हालै, मे २०२५ मा, ‘सगरमाथा संवाद’को पहिलो संस्करणको आयोजना सहयोगार्थ १५ वटा विद्युतीय सवारी साधन नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई प्रदान गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM