वीरगञ्जको आदर्शनगरस्थित शंखधर साख्वा पार्कको प्राङ्गणमा एक विशेष समारोहका बीच आचार्य महाश्रमण कन्या सुरक्षा सर्किल अन्तर्गत निर्मित स्तम्भ अनावरण गरिएको छ।
समारोहका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उक्त स्तम्भ अनावरण गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। स्तम्भ उद्घाटनसँगै कन्याहरूको सुरक्षा, नैतिक शिक्षा, आत्मरक्षा र सशक्तिकरणप्रति समाजको प्रतिबद्धता सार्वजनिक रूपमा व्यक्त गरिएको छ।
कार्यक्रमको अध्यक्षता तेरापन्थ महिला मण्डलकी अध्यक्ष बबिता खटेडले गर्नुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथिमा तेरापन्थ महिला मण्डल (अन्तर्राष्ट्रिय) की राष्ट्रिय अध्यक्ष सरिता डागा, वरिष्ठ उपाध्यक्ष अशोक बैद, सहमन्त्री डा. वन्दना, सरिता बारलोटा, सोनम बागरेचा, मन्त्री कुसुम मनौत, हर्षिका भंसाली, महिला मण्डलका सदस्यहरू, समाजसेवी, पत्रकार तथा नारी सशक्तिकरणका पक्षधरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा कन्या विकास योजना अन्तर्गत नारीहरूको सुरक्षा, नैतिकता, आत्मरक्षा सीप, सामाजिक सशक्तिकरण र सुसंस्कारको प्रवर्द्धनका लागि स्तम्भ निर्माण गरिएको जानकारी दिइयो।
वक्ताहरूले हालको सामाजिक परिप्रेक्ष्यमा नारी सशक्तिकरणका कार्यको महत्व र भूमिकामाथि प्रकाश पार्दै यस्तो अभियानले महिला र किशोरीहरूको मनोबल अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिहरूलाई अंगवस्त्र र स्मृति चिह्न प्रदान गरि सम्मान गरिएको थियो। साथै, अवसरमा प्रेरणादायी गीत र नारी सशक्तिकरणलाई केन्द्रमा राखेर तयार पारिएका प्रस्तुति पनि प्रस्तुत गरियो।
कार्यक्रममा निकट भविष्यमा नेपाल तथा भारतका विभिन्न स्थानहरूमा कन्या सुरक्षा सर्किलका शाखाहरू विस्तार गर्ने योजना रहेको जानकारी आयोजकहरूले दिएका छन्।
यस अभियानमार्फत समाजमा महिला र बालिकाप्रति सम्मान, सुरक्षा र समानताको भावना अभिवृद्धि गर्दै नैतिक मूल्य र संस्कारमा आधारित समाज निर्माण गर्ने लक्ष्य राखिएको आयोजकहरूले जनाएका छन्।









