बीरगंज पब्लिक कलेजले आफ्नो २५ औं शैक्षिक उत्कृष्टताको वर्षको अवसरमा “बैंकिङ तथा बीमा मिट एण्ड ग्रीट कार्यक्रम २०८२” भव्य रुपमा सम्पन्न गरेको छ। कार्यक्रम कलेजको बुद्ध ईन्क्यूवेशन सेन्टरको सभा हलमा आयोजित गरिएको थियो, जसमा विभिन्न बैंक तथा बीमा संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य शैक्षिक संस्था र वित्तीय क्षेत्रबीच सहकार्यको सञ्जाल विस्तार गर्नु तथा विगतका सफल सहकार्यका लागि बैंक तथा बीमा संस्थाहरूलाई सम्मान प्रदान गर्नु रहेको थियो।
कार्यक्रमका सभापतिका रूपमा विरगंज पव्लिक कलेजका संस्थापक निर्देशक प्रा. डा. दिपक शाक्य रहनुभएको थियो भने कलेजका सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठ ज्यूले कार्यक्रममा प्रकाश पार्दै २५ वर्षको यात्रामा विरगंज पव्लिक कलेजले हासिल गरेका उपलब्धिहरू, क्याम्पसका गतिविधिहरू, तथा बैंक – बीमा क्षेत्रको अमूल्य योगदानप्रति आभार व्यक्त गर्नुभयो।
सो अवसरमा नबिल बैंक, सानीमा बैंक लिमिटेड, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक, राष्ट्रिय बीमा कम्पनी, शिखर इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स लगायतका ६० वटा प्रतिष्ठित संस्थाहरुलाई प्रशंसा पत्र र सम्मान गरिएको थियो।
उक्त कार्यक्रममा “शिक्षा र वित्तीय क्षेत्रको सहकार्यबाट भविष्यको समृद्धि” भन्ने मूल नाराका साथ बैंक तथा बीमा प्रतिनिधिहरूबीच शिक्षा-आधारित वित्तीय परियोजना, अध्ययन भ्रमण, इन्टर्नसिप तथा तालिम कार्यक्रम जस्ता सम्भावित सहकार्यका विषयमा कलेजका संस्थापक निर्देशक प्रा. डा. दिपक शाक्यले अनुरोध गर्नुभएको थियो।
कार्यक्रमको समापनमा सहभागी संस्थाहरूले भविष्यमा अझ प्रगाढ सहकार्य गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उक्त कार्यक्रममा बैंकर्स एसोसिएसन वीरगन्जका अध्यक्ष रोहिणी आचार्य, नेपाल बिमा प्राधिकरण मधेस प्रदेश प्रमुख प्रिती देव, निप्स वीरगन्जका अध्यक्ष बद्री बहादुर अधिकारी, कर्पोरेट डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी निर्देशक लालबाहादुर थिगंको विषेश उपस्थित रहेको थियो।









