बीरगंज महानगरपालिकामा ३० वर्षदेखि थुनिएको मुख्य नाला (डेन वन) सफलतापूर्वक सफा गरिएको छ। विगत तीन महिनादेखि सञ्चालनमा आएको सरसफाई अभियानले ऐतिहासिक उपलब्धि हात पारेको हो। वर्षा हुनेबित्तिकै डुबानमा पर्ने नगर अब यो वर्षको वर्षात्मा डुबानमुक्त बनेको छ, जसले नगरवासीलाई ठूलो राहत दिएको छ।
बीरगंज महानगर प्रमुख मेयर राजेशमान सिंहको नेतृत्वमा सुरु भएको यो अभियानले नगरको दीर्घकालीन समस्या समाधान गरेको छ। अभियानका क्रममा नालामा वर्षौं देखिका जमेको फोहोर, झारपात, प्लास्टिकजन्य अवरोध हटाइएको थियो। तीन महिनासम्म अविरल रूपमा चलाइएको सरसफाई कार्यले नगरभित्रको जलनिकास व्यवस्था सुधार गरेको छ।
अभियानमा मेयर सिंहको दूरदर्शिता सँगै सर्फुदिन मिया र जय प्रकाश खेतानको समर्पणले अभियानलाई परिणाममुखी बनाएको छ। विशेष रूपमा संयोजक जय प्रकाश खेतानको २४ घण्टा नालाको निरीक्षण, समन्वय र व्यवस्थापनमा सक्रिय संलग्नताले नगरवासीबीच सकारात्मक प्रभाव पारेको छ।
“सफा, सुन्दर र वातावरणमैत्री बीरगंज” निर्माणको लक्ष्यसहित टोलीले दिनरात खटिएर काम गरिरहेका थिए। हालै परेको अविरल वर्षामा समेत नगरका बस्तीहरूमा पानी जम्न नदिएको पुष्टि हुनु, यस अभियानको प्रत्यक्ष प्रभावको प्रमाण हो।
नगरवासीहरूले बर्सौंदेखि भोग्दै आएको डुबानको समस्याबाट यस वर्ष मुक्ति पाएको अनुभव गरेका छन्। सरसफाई अभियानको सफल कार्यान्वयनले बीरगंजलाई स्वच्छ, सुरक्षित र सुन्दर शहर बनाउने यात्रामा महत्वपूर्ण पाइला चालेको छ।









