जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाको १५ औँ गाउँ सभा मङ्गलवार गाउँपालिका अध्यक्ष यसवन्त यादवको अध्यक्षतामा सम्पन्न भएको छ ।
गाउँ सभाले आर्थिक वर्ष २०८२/८३ का लागि ५९ करोड ३१ लाख ५८ हजार ३०३ रुपैयाँको अनुमानित बजेट सर्वसम्मत रूपमा पारित गरेको छ ।
गाउँपालिकाको समग्र विकासलाई केन्द्रमा राखेर तयार पारिएको बजेटले गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, महिला सशक्तीकरण, युवा उद्यमशीलता, वातावरण संरक्षण र विपद् व्यवस्थापन जस्ता क्षेत्रलाई प्राथमिकता दिएको छ ।
गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहाले स्वागत मन्तव्य राख्दै सहभागी सबैप्रति आभार व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखा प्रमुख विनोद यादवले गरेका थिए ।
बजेट प्रस्तुत गर्दै गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिस्ट महतोले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय स्रोतको अधिकतम उपयोग र समावेशी विकासमा जोड दिइएको बताइन् । उनले बजेटले गुणस्तरीय शिक्षाका लागि विद्यालयहरूको नियमित अनुगमन, आवश्यक भौतिक पूर्वाधारको व्यवस्था र प्राविधिक शिक्षामा जोड दिने योजना समावेश गरेको उल्लेख गरिन् ।
स्वास्थ्य क्षेत्रमा आधारभूत अस्पतालको स्तरोन्नति, विशेषज्ञ चिकित्सकको व्यवस्था र स्वास्थ्य बिमा कार्यक्रमको विस्तारलाई प्राथमिकता दिइएको उनको भनाइ थियो । साथै, कृषि, पर्यटन र पूर्वाधार विकासलाई गाउँपालिकाको समृद्धिको आधारका रूपमा लिइएको उनले बताइन् ।
गाउँपालिका अध्यक्ष यसवन्त यादवले सखुवा प्रसौनीलाई समृद्ध र आत्मनिर्भर बनाउने दृष्टिकोणसहित बजेट र कार्यक्रमहरू तय गरिएको बताए । उनले ‘एक गाउँ, एक उद्यम’ कार्यक्रममार्फत प्रत्येक वडामा कम्तीमा एउटा उद्यम स्थापना गरी स्थानीय युवा र महिलाहरूलाई रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको बताए ।
शिक्षाको क्षेत्रमा विद्यालयहरूको अनुगमन, भौतिक पूर्वाधारको विकास र प्राविधिक शिक्षामा जोड दिइने उनले उल्लेख गरे । स्वास्थ्य क्षेत्रमा आधारभूत अस्पताललाई व्यवस्थित बनाउने, स्वास्थ्य बिमालाई प्रोत्साहन गर्ने र विशेषज्ञ सेवा उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए ।
कृषि क्षेत्रलाई गाउँपालिकाको मेरुदण्डका रूपमा लिइएको बताउँदै अध्यक्ष यादवले सिँचाइका लागि ट्रान्सफर्मर र पोलको व्यवस्था, कोल्ड स्टोर स्थापना, आधुनिक कृषि बजारको विकास र कृषि उपजको बजार विस्तारमा जोड दिइने बताए । ‘एक घर, एक रुख’ कार्यक्रममार्फत वातावरण संरक्षणलाई प्राथमिकता दिइएको र पशु बिमा, अर्गानिक खेतीको प्रवर्द्धन र किसानलाई प्राविधिक सहयोग प्रदान गरिने उनले बताए ।
भौतिक पूर्वाधारतर्फ कालोपत्रे सडकको विस्तार, पुल-पुलेसा निर्माण र खानेपानीको सहज व्यवस्थापनमा पनि बजेट विनियोजन गरिएको उनको भनाइ थियो ।
गाउँपालिकाले पर्यटन विकासका लागि स्थानीय धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जोड दिएको छ । महिला सशक्तीकरण र युवा उद्यमशीलताका लागि सीपमूलक तालिम र सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने अध्यक्ष यादवले बताए । विपद् व्यवस्थापनका लागि बाढी र डुबानजस्ता प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरण गर्न पूर्व तयारी र राहत कोष स्थापना गरिने उनले उल्लेख गरे ।
साथै, सेवा प्रवाहलाई डिजिटल बनाउन अनलाइन सेवा र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरी गाउँपालिकालाई डिजिटल गाउँपालिकाको रूपमा विकास गर्ने योजना रहेको उनले बताए ।
गाउँ सभा कार्यक्रममा ६ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, समाजसेवी, शिक्षक, बुद्धिजीवी र स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो ।
अध्यक्ष यादवले सबै सरोकारवालाको सहयोग र सहकार्यमा योजनाहरू कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै सखुवा प्रसौनीलाई समृद्ध, हरियाली र आत्मनिर्भर गाउँपालिका बनाउने प्रतिबद्धता जनाए । स्थानीय बासिन्दाहरूले प्रस्तुत नीति तथा कार्यक्रमप्रति उत्साह व्यक्त गरेको गाउँपालिकाले जनाएको छ ।









